चितवन - भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको बुधबार शिलान्यास गरिएको छ। दुई तला निर्माण गरिने भवनको महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन्।
कार्यक्रममा प्रमुख दाहालले बढ्दो सेवाग्राहीको चाप र कर्मचारीको कार्यव्यवस्थापनलाई प्रभावकारी बनाउन भवन निर्माण गर्न लागिएको बताइन्।
महानगरपालिकाका विभिन्न महाशाखा बाहिर रहेको भन्दै उनले ती महाशाखालाई एकै ठाउँमा ल्याई व्यवस्थित र प्रभावकारी सेवा प्रवाह गर्नका लागि भवन बनाउन लागिएको जानकारी दिइन्।
भवन ३ महिनाभित्र सम्पन्न गर्ने गरी काम शुरु गरिएको भन्दै उनले निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीलाई समयमै गुणस्तरीय भवन निर्माण गर्न आग्रह गरिन्।
महानगरपालिकाका इञ्जिनीयर सूर्यप्रकाश लामाका अनुसार १ करोड ४६ लाख रुपैयाँको लागतमा भवन निर्माण गर्न लागिएको हो। स्टील स्ट्रक्चरमा स्याण्डविच प्यानल प्रयोग गरी दुई तलामा १६ कोठे भवन प्रशासनिक ब्लकका रूपमा निर्माण गर्न लागिएको हो। (रासस)