डिआर बञ्जाडे, बुटवल - नेपाल कम्युनिष्ट पार्टी (विप्लव)को बन्दले रुपन्देहीसहित प्रदेश ५ को जनजीवन प्रभावित बनेको छ। पार्टी प्रतिबन्ध र आफ्ना नेता कार्यक्रर्तालाई बिनाकारण पक्राउ गरेको विरोधमा नेकपाले नेपाल बन्दको आह्वान गरेको हो।
आफ्ना नेता तथा कार्यकर्ताको विनासर्त रिहाईको माग गर्दै आह्वान गरेको बन्दले बिहानैदेखि कपिलवस्तु, नवलपरासी, दाङ, पाल्पालगाएतका जिल्लाहरुमा बाग्लो प्रभाव देखिएको छ। त्यस्तै पाल्पा संवाददाता मुक्ति न्यौपानेका अनुसार पाल्पा पनि पूर्ण बन्द छ।
बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आएका छैनन्। सडकमा फाट्टफुट्ट निजी सवारी साधनहरु चलेका छन्। सडकमा विप्लप कार्यकर्ता भने देखिएका छैनन्। भैरहवामा टिकट काउन्टर संचालनमा रहेको छ। तर बुटवलको टिकट बिक्रि कक्ष भने बन्दछ। चोक चोक प्रहरीले सतर्कता बढाईएको छ।
बन्दकै क्रममा विभिन्न स्थानमा बम तथा विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ। रुपन्देहीको कोटिहवा स्थीत टाईगर प्यालेस होटल जाने बाटोमा भेटिएको संकास्पद वस्तु डिस्पोज गरिएको प्रहरीले जनाएको छ।
उता पाल्पाको रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बिहीवार विहान बम विष्फोट भएको छ। कार्यालय नजिकै रहेको सेवाग्राही बस्ने प्रतिक्षालयमा वम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जनाकारी दिए।
उनकाअनुसार विष्फोटबाट प्रतिक्षालय र गाउँपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ। कार्यालयको झ्यालका सिसा फुटेका छन्। विस्फोट कस्ले र किन गराएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए।