काठमाडौँ - प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका दिनेशकुमार थपलियाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ। थपलियाविरुद्ध समितिमा ६ वटा उजुरी परेको थिए।
बुधबार उजुरीकर्ता र थपलियासँगको छलफलपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो। अब राष्ट्रपतिले सपथ खुवाएपछि थपलियाले पदभार ग्रहण गर्नेछन्।
सुनुवाइ समितिको बुधबारको बैठकले राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ। उनीविरुद्ध भने कुनै पनि उजुरी परेको थिएन।
नाम अनुमोदन अघि सुनुवाई समितिमा थपलिया र ओझाले आफ्नो भावी कार्ययोजना तथा अवधारणा प्रस्तुत गरेका थिए। भावी कार्ययोजनामा थपलियाले उपचुनाव, निर्वाचन आचार संहिता स्वच्छ बनाउने जस्ता कुरामा जोड दिएका थिए।