काठमाडौं - नेपाली कांग्रेसले यही वैशाख ११ गतेदेखि जनजागरण अभियान थाल्ने घोषणा गरेको छ। ‘हिमाल पहाड तराई मधेश, नेपाली कांग्रेस’ नाम दिइएको उक्त अभियान तीन चरणमा गर्ने कांग्रेसले बताएको छ। उक्त पार्टीले आज मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो।
सो अभियानको पहिलो चरणमा देशभरका सबै जिल्लामा वैशाख ११ देखि जेठ ११ गतेसम्म केन्द्रीय प्रतिनिधि पुगेर एक महिनासम्म बसेर निर्धारित कार्यक्रमहरू सम्पन्न गराउने पार्टी प्रवक्ता विश्वप्रकाशले जानकारी दिए। पहिलो चरणमा काठमाडौंबाट देउवाले अभियानको शुभारम्भ गर्ने बताइएको छ।
त्यस्तै, दोस्रो चरणअन्तर्गत भदौ २४ देखि असोज ७ गतेसम्म जागरण अभियान चलाइने कांग्रेसले बताएको छ। यो अभियानअन्तर्गत ३३० प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पुग्ने र १५ दिन बसेर सम्बन्धित क्षेत्रमा निर्धारित कार्यक्रमहरू सम्पन्न गराउनेछन्।
तेस्रो चरणको अभियान भने पुस ७ देखि १६ गतेसम्म चलाइने र यो अभियानअन्तर्गत केन्द्रीय प्रतिनिधि सबै स्थानीय तहमा पुगेर १० दिनसम्म बसी निर्धारित कार्यक्रमहरू सम्पन्न गराउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
यो अभियानका क्रममा कांग्रेसले पार्टी सदस्यता वितरणलाई पनि तीव्रता दिने बताएको छ। यसले गत चुनावमा हारेका आफ्ना कार्यकर्ताको मनोबल उच्च पार्न सघाउ पुर्याउने कांग्रेसको दाबी छ। अभियानका क्रममा सरकारको गलत प्रवृत्तिको भण्डाफोर पनि गरिने प्रवक्ता शर्माले बताए।
अभियानका लागि भ्रातृ संस्थालाई पनि खटाइने पार्टीले जानकारी दिएको छ, जसअन्तर्गत महिला संघले महिला जागरण अभियान, तरुण दललाई सरकारको गलत कामका साथै भ्रष्टाचारविरुद्ध अभियान चलाउन जिम्मेवारी दिइएको छ।
त्यस्तै, नेविसंघलाई ‘प्लस टु प्लस’को जिम्मेवारी पाएको छ। यसमा कक्षा ११ र १२ का विद्यार्थीलाई कांग्रेसबारे बुझाएर पार्टीसँग जोडिने बताइएको छ। नेपाल दलित संघले सबै खाले विभेद अन्त्यका लागि अभियान चलाउनेछ। यद्यपि अहिलेसम्म सबै भ्रातृसंस्थाको अवस्था भने भद्रगोल छ।
तर, उपसभापति विमलेन्द्र निधिले नेविसंघको तदर्थ समिति भने यस अभियानअगावै बनाउने बताएका छन्। चार सदस्यीय तरुण दलको समितिलाई पनि पूर्णता दिने निधिले बताए। विदेशस्थित नेपालीले पनि मतदानमा भाग लिन पाउने सर्वोच्चको फैसलालाई कांग्रेसको जनसम्पर्क समितिले अभियान बनाउने कांग्रेसले बताएको छ।
पत्रकार सम्मेलनमा उपसभापति निधि, अर्का उपसभापति विजयकुमार गच्छदार, महामन्त्री कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवलगायतको सहभागिता थियो।
मैले हिन्दूधर्मको कुरा गरेको छैन : महामन्त्री डा. कोइराला
कांग्रेस महामन्त्री शंशाक कोइरालाले धर्मको विषयमा बोली फेरेका छन्। यसअघि हिन्दू राष्ट्का लागि जनमतसंग्रह गर्नुपर्छ भन्दै आएका महामन्त्री कोइरालाले पत्रकार सम्मेलनमा बोली फेरेका हुन्।
उनले भने, ‘मैले बोलेको विषयमा गलत बुझाइ भयो, हिन्दू धर्मको विषयमा मैले बोलेको छैन। कांग्रेसको झण्डाको एउटा ताराले धार्मिक स्वतन्त्रता बोक्छ।’