काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा १२ लाख हेक्टर जमिनमा कफी खेतीको सम्भावना रहेको बताए।
पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कफीको माग धेरै रहेको तर नेपालको उत्पादन निकै थोरै रहेको प्रसङ्ग उल्लेख गरे। उनले नेपालको कृषिक्षेत्रमा विविधीकरण, यान्त्रिकीकरण, औद्योगीकरण तथा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल चिया तथा कफी विकास बोर्डले सोमबार आयोजना गरेको नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलन–२०७६ को यहाँ उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालमा १२ लाख हेक्टर जमिनमा कफी खेतीको सम्भावना रहेको बताएका हुन्।
पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कफीको माग धेरै रहेको तर नेपालको उत्पादन निकै थोरै रहेको प्रसङ्ग उल्लेख गरेका थिए। उनले नेपालमा उत्पादन हुने कफीको गुणस्तर राम्रो रहेकाले पनि विदेशमा निर्यात हुने सम्भावना रहेको औँल्याए।
उनले कफी उत्पादनको क्षेत्रमा लगानी बढाउन, अनुसन्धान, तालिम तथा विस्तारका लागि राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताए।
सो अवसरमा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले विसं १९९५ देखि नेपालमा कफीखेती शुरु भएको बताइन्। उनले कफीलाई विश्वबजारमा पुुर्याउन गुल्मीलाई सुपर जोनका रूपमा अघि सारी कम्तीमा ५ हजार युवालाई निःशर्त र निःशुल्क तालिम दिने कार्य शुरु गरिसकेको बताइन्।
युरोपेली सङ्घका प्रतिनिधिमण्डल प्रतिनिधि जाँ पेट्टले भविष्यमा नेपालमा कफी उत्पादनका क्षेत्रमा युरोपेली सङ्घले सहयोग तथा समर्थन गर्ने बताए। कफीको विकासका लागि नेपालले धेरै काम गर्नुपर्नेमा उनको जोड थियो।
इयू फन्डेड ट्रेड एन्ड प्राइभेट सेक्टर डेभलपमेन्ट प्रोजेक्टका सल्लाहकार डा. बद्रीप्रसाद बस्ताकोटीले विश्वमा पानी र चियापछि मानिसले सबैभन्दा बढी पिउने पेयपदार्थ कफी रहेको बताउँदै विश्वमा १ करोड ८५ हजार मेट्रिकटन कफी खपत हुने बताए।
चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले नेपालमा हाल ५ सय १३ मेट्रिकटन कफी उत्पादन हुने गरेको र गरीब किसानको महत्त्वपूर्ण पेशाका रूपमा रहेको बताए। (रासस)