काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन्। जेष्ठ नागरिक स्वास्थ्य बिमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उद्घाटन गर्दै ओली आगामी बजेटमा बृद्धभत्ता बढ्ने बताएका हुन्।
‘यो बुढाबुढीको भलो चिताउने सरकार हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसपालिको बजेटमा बृद्धभत्ता बढ्छ। ढुक्क भए हुन्छ।’
ओलीले २०५१ सालमा तत्कालिन एमालेको सरकारले वृद्ध भत्ता वितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताए।
‘पहिला पहिला बुढाबुढीहरु कति बर्ष पुग्नुभयो भन्दा ६८ बर्ष पुगियो। अब कति बाचिएला र भन्थे,’ ओलीले भने, ‘यतिबेला बृद्धभत्ता पाउन अब दुई वर्ष बाँकी छ भन्छन्। बृद्धबृद्धाहरुमा जीवनप्रतिको आशा बढेको छ।’
प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताए। ओलीले कसैले भोकै नाङ्गै बस्नु नपर्ने, मागेर खानु नपर्ने बताए। त्यस्तो अवस्थाका असहायको सहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ।
ओलीले स्वास्थ्य बिमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठूलो भरथेग गर्ने बताए। ‘हामी नेपाललाई केही वर्षभित्रै निरोगी नेपाल, स्वास्थ्य नेपाल बनाउँदै छौं,’ ओलीले भने, ‘यसका लागि हाम्रो खानपानलाई विषादिरहित बनाउनु पर्दछ।’
प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकहरुलाई कार्यक्रममा स्वास्थ्य बिमा कार्ड वितरण गरे। यसैगरी, कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता खोलेका छन्। उनहरुलाई प्रधानमन्त्री ओलीले राष्ट्रिय वाणिज्य बैंकको चेक हस्तान्तरण गरेका छन्।