पोखरा - पोखरा महानगरपालिका–१ ले वडाका विपन्न र असहाय परिवारलार्ई स्वास्थ्य बीमा कार्ड वितरण गरेको छ। विपन्न, अशक्त र असहाय नागरिकको स्वास्थ्य बीमाका लागि विनियोजन गरेको रु. १ लाखबाट वडाभित्रका ४० घरपरिवारलाई रु. २ हजार ५ सयका दरले स्वास्थ्य बीमा गरिएको हो।
सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने कार्यक्रमअनुसार सम्पन्न स्तरीकरणका आधारमा स्वास्थ्य बीमा गरेर कार्ड वितरण गरेको वडाध्यक्ष शारदाकुमारी पराजुलीले जानकारी दिइन्।
एक जनाको कार्डबाट सरकारले परिवारका पाँच जना सदस्यलाई रु. ५० हजार बराबरको स्वास्थ्य उपचारको व्यवस्था गरिएको उनले बताइन्। उनले बीमा कार्यक्रमबाट वडाका २ सय जना लाभान्वित हुने जानकारी दिइन्।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार यहाँ आयोजित एक कार्यक्रमबीच कार्ड वितरण गर्दै महानगरपालिकाले ‘एक वडा एक स्वास्थ्य केन्द्र’ स्थापना कार्यक्रम ल्याएको जानकारी दिइन्। प्रमुख आवश्यकता गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी रहेको उल्लेख गर्दै उनले त्यसअनुरूप प्राथमिकताका साथ आवश्यक ऐन कानून निर्माणमा जोड दिएको बताइन्।
नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रसमेत सञ्चालनमा ल्याएको जानकारी दिँदै उपप्रमुख गुरुङले बिरामी भएपछि मात्रै उपचार गर्नेभन्दा नियमित स्वास्थ्य परीक्षण गरेर रोग लाग्न नदिने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड गण्डकीका संयोजक जीवराज खरेलले कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सरकारले यो कार्यक्रम ल्याएको बताउँदै कास्की जिल्लामा १ लाख ३ हजारले स्वास्थ्य बीमा गराएको जानकारी दिए। (रासस)