काठमाडौँ – आगामी बैशाख १ गतेदेखि ४ गतेसम्म मनाउने टोखा विस्का नखः (बिस्केट जात्रा) को तयारी पूरा भएको छ। बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे टोखा बिस्केट जात्रा मुल व्यवस्थापन समितिले जात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
जात्राको बारेमा प्रचार–प्रसार गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै टोखा नगरपालिकाकी उप–प्रमुख ज्ञानमाया डंगोलले ऐतिहाँसिक तथा सांस्कृतिक महत्व बोकेको जात्रा टोखा नगरवासीकोमात्र नभएर देशकै गहनाको रुपमा रहेको स्पष्ट पारिन्। टोखालाई चाकुको राजधानीको रुपमा मात्र नहेरेर मौलिक परम्परादेखि चल्दै आएको नेपालकै सबैभन्दा पुरानो बिस्केट जात्राको रुपमा बुझ्नपनि आवश्यक रहेको उनले बताईन्।
उनले जात्रा व्यवस्थापनको लागि मूल समिति तथा उप–समिति गठन भैसकेको समेत जानकारी दिईन्। उनले उक्त जात्रा सम्पन्न गराउन नगरपालिकाले बजेटको बिनियोजन पनि गरिसकेकोे बताईन्। नेवा गुठिका सल्लाहकार गणेशमान श्रेष्ठले ऐतिहाँसिक नगरीमा मनाईने जात्राको आफ्नै महत्व रहेको बताए।
बिस्केत जात्रा टोखाले पाएको मौलिक अधिकार रहेको भन्दै उनले जात्रालाई निरन्तरता र मौलिकता दिन सबैको दायित्व भएको धारणा राखे। उनले परापुर्वककालदेखि चल्दै आएको जात्रालाई आमा, बुवा र छोराबीचको जात्राको रुपमा पनि चित्रण गर्न सकिने स्पष्ट पारे। अहिलेको नयाँ पुस्तालाई आफ्ना मौलिकतामा रुचि हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे।
उनले अहिले जात्रा अवलोकन तथा निरन्तरतामा जाने युवाहरुमा कमि आएको भनाई राखे। पुरानो मुल्य र मान्यतालाई अहिलेको नयाँ पीढीले सम्हाल्न नसकेको आरोप लगाउदै उनले युवा र बृद्धबीच बेमेल हुँदा जात्रामा किचलो अथवा द्वन्द्व पैदा हुनेपनि तर्क गरे। बिगतमा हुने जात्राभन्दा यसपटकको जात्रालाई ब्यवस्थित पार्न खोजिएको जानकारी गराउँदै उनले नेवा गुठिले यसको सम्पुर्ण जिम्मेवारी लिईसकेको प्रष्ट पारे।
आफूहरुले मनाउँदै आएको जात्राहरु नेपालका मौलिक गहना भएको उनको भनाई छ। उनले भविश्यमा मौलिकता लोप हुन नदिन जात्रालाई जीवन्त र निरन्तरतामा सबैको लगाव रहन आवश्यक रहेको बताए। त्यस्तै कार्यक्रममा बोल्दै नेवा गुठिका उपाध्यक्ष सत्यनारायण उपाध्यायले बैशाख ३ गते नेपाल सरकारका मन्त्री र काठमाडौं उपत्यकाका सम्पुर्ण मेयर तथा उप–मेयरहरुको सहभागिता रहने बारेपनि जानकारी दिए।
यसपटकको बिस्केट जात्रामा दुई लाखले अवलोकन गर्ने अनुमान गरिएको छ। जात्रालाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न करिव तीन सयभन्दा बढि स्वय्मसेवक, नेपाल प्रहरी, स्काउट र गुठीका पदाधिकारीहरु परिचालन गरिने छ।