भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गरेको बताएका छन्।
सैनिक अधिकृतहरुको दीक्षान्त समारोहलाई बिहीबार खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायीक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै आएको उल्लेद गरेका छन्।
ओलीले भने, ‘आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ।’
तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौं नायकहरुको नेतृत्वमा अघि बढाएको राष्ट्रिय एकीकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकीकृत गरी नेपाल निर्माण गरेको उनले बताए।
प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश अहिले स्थायित्वको जगमा सुदृढ सुव्यवस्था र तीव्र विकासको बाटोबाट अघि बढेको बताए।
‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पारी राष्ट्र विकास गर्ने हाम्रो संकल्प रहेको छ,’ ओलीले भने, ‘विकासका लागि सुरक्षा र सुरक्षा सुदृढीकरणका लागि विकास अपरिहार्य छ।’
प्रधानमन्त्री ओलीले देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा समेत उत्पन्न हुन सक्ने सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ति सुरक्षासँग सम्बद्ध सुरक्षा निकाय समेत सदैव सजग, सतर्क र तयार रहनु पर्ने बताएका छन्।