काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारस्थित जमीन किनबेच नभएको स्पष्टीकरण दिएका छन्।
बास्कोटाले शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको सिफारिसका आधारमा ललिता निवासको जग्गा किनबेचमा रोक लगाइएको जानकारी दिएका छन्।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको प्रष्ट पारेका हुन्। उनले यो विषय ललिता निवाससँग जोडिएर आएको बताए।
सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको बताएका बास्कोटाले यस विषयमा छानबिन गरी र दोषीमाथि कारवाही प्रक्रिया अघि बढाउने प्रष्ट पारेका छन्। गैरकानूनी र अनुचित ढंगले व्यक्तिका नाममा लगिएको जग्गा सरकारले फिर्ता गरिने दृढता व्यक्ति गरे।
सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले ललिता निवासको जग्गा किनेको विषयमा पनि बास्कोटाले प्रष्टीकरण दिएका छन्। पौडेल निर्दोष रहेको बास्कोटाले बताए।
नेकपाका महासचिव पौडेलले यो विषयमा वक्तव्य जारी गरिसकेको बताउँदै बास्कोटाले पौडेलले फर्जी धन्दामा संलग्न नभएको र कसैको नाममा भइसकेको जग्गा किनेको बताएको जानकारी दिए।