काठमाडौँ - नयाँ वर्ष २०७६ सालमा बैंक खाता खोल्नेहरुले खातामा १०० रुपैयाँ उपहारस्वरुप पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले ‘खोलौं बैंक खाता’ अभियान सञ्चालन गर्नका लागि २०७६ सालमा खोलिएको खातामा १०० रुपैंयाँ बैंकका तर्फबाट राखिदिने व्यवस्था गरेको छ।
हरेक नेपालीको बैंक खाता अभियानलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले उक्त व्यवस्था गरिदिएको हो। बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट बचत खाता खोल्नेहरुको खातामा १०० रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो।
केन्द्रीय बैंकले बुधबार एक सर्कुलर जारी गर्दै खाता खोल्दा त्यहाँ बैंकको तर्फबाट हालिने पैसा बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट खर्च गर्न पाउने व्यवस्था गरेको हो।
पहिले बैंक खाता खोल्दा अनिवार्य रुपमा नागरिकताको प्रमाणपत्र साथै तीन पुस्ताको विवरण खुलाउने अन्य कागजात पनि आवश्यक पर्दथ्यो। तर, राष्ट्र बैंकले उक्त व्यवस्थालाई बैंकले खाता खोल्ने प्रक्रियालाई पनि सहज बनाएको छ। आवश्यक कागजातहरुमा पनि सहजीकरण गरिदिएको छ।
ग्राहक पहिचान गर्दा नागरिकताको प्रमाणपत्र, राहदानी, फोटोसहितको मतखाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, कुनै सरकारी निकायले जारी गरेको फाेटो सहतिको परिचयपत्र अथवा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटो सहितको सिफारिस मध्ये कुनै एउटा कागजातको आधारमा खाता खोल्न सकिनेछ।
खाता खोल्दा धेरै झन्झटको सामना गर्नु पर्नेछैन। खाता खुलाउँदा बैंकहरुले तयार गर्ने फारम सरल खालको हुनुपर्ने र खाता खोल्दा ग्राहकले अन्य बैंकमा खाता नभएको स्वघोषण गर्नुपर्नेछ। यसकाे अर्थ बैंकमा हालसम्म नभएकाले मात्र यो सुविधा पाउनेछन्।