झापा – विगत २५ बर्ष एक छत्र सिक्किममा राज गरेको मुख्यमन्त्री पवनकुमार चामलिङ नेतृत्वको पार्टी (सिक्किम डेमोक्रेटिक फ्रन्ट) का लागि अहिले नयाँ पार्टी खोलेका चामलिङकै पूर्वसहकर्मी पिएस गोलेको पार्टी सिक्किम क्रान्तिकारी मोर्चा चुनौती बनेको छ।
भ्रष्टाचारको मुद्दामा केही महिना जेलसमेत बसेर निस्केका गोले आफू चुनावमा प्रतिष्पर्धा नगरे पनि उनको पार्टीले सबै विधानसभाका सिटमा उम्मेद्वार खडा गरेका छन्। पहिला छुट्टै देश सिक्किम भारतमा विलय भएपछि लामो समय राज्यमा शासन गर्ने पवनकुमार चामलिङ हुन्। उनी तेस्रो मुख्यमन्त्री हुन्।
उनीअघि काजी लेन्डुप दोर्जी र नरबहादुर भण्डारी सिक्किमका मुख्यमन्त्री थिए। भण्डारीको शासनकालमा चामलिङ भण्डारीका विश्वासपात्र थिए। पछि एकाएक फुटेर चामलिङले सिक्किम डेमोक्रेटिक फ्रन्ट नामको पार्टी स्थापना गरेका हुन्।
चामलिङको एजेन्डा
केही दिन अघि पश्चिम सिक्किमको गेजिङमा चुनावी सभालाई सम्बोधन गर्दै पवनकुमार चामलिङले नेपालको चिवा भन्ज्याङसँग सिक्किमलाई जोड्न सडक निर्माण गर्ने कुरा बताउँदै थिए।
उनले भने, ‘अब हामी मानेबुङ देन्तामको बाटो चुवा भन्ज्याङ पुर्याउँदैछौं। चुवा भन्ज्याङलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय स्थल बनाउँछौं। त्यो चुवा भन्ज्याङको बाटो नेपालसंग जोड्छौं र नेपालबाट पनि हामी पर्यटक ल्याउँछौं। यहाँदेखि पनि पर्यटकलाई नेपाल जान सजिलो हुन्छ।’
सिक्किम डेमोक्र्याटिक फ्रन्टले कृषकलाई निस्शुल्क गाई, बाख्रा, बङ्गुर लगायत चौपाया उपलब्ध गराउने, युवालाई रोजगारीको व्यवस्था गर्ने, शिक्षाको क्षेत्रमा नयाँ–नयाँ काम गर्न लगायत विविध कार्यक्रम अगाडि सारेको एकजना नेता तथा बहालवाला मन्त्री अर्जुन घतानीले बताए।
घतानीले भने, ‘युवा, कृषकलगायत थुप्रै कुराहरुलाई लक्षित गरेर हामीले कार्यक्रम ल्याएका छौं। विशेषगरी युवालक्षित कार्यक्रम धेरै लिएर हामी जनतासमक्ष गएका छौं।’
गोलेको एजेन्डा
अहिलेसम्म चामलिङ सरकारले बेरोजगार युवालाई रोजगारी दिन नसकेको सिक्किम क्रान्तिकारी मोर्चाका नेता तथा कार्यकर्ता बताउँछन्। २५ बर्ष उनको शासनकाकालमा धेरै भ्रष्टाचारका काम भएको भन्दै अब परिवर्तन नगरि नहुने तर्क उनीहरुको छ।
पिएस गोले नेतृत्वको पार्टी सिक्किम क्रान्तिकारी मोर्चा भ्रष्टाचार नियन्त्रण, जातीय सदभाव र बेरोजगारलाई रोजगारी दिने मुख्य एजेन्डा लिएर चुनावमा भिडेको छ।
ती मुद्दालाई समर्थन गर्ने एकजना समर्थक पश्चिम सिक्किम दरामदिनकी अनुजा शर्माले भनिन्, ‘सिक्किमको सत्ताधारी पार्टीले भ्रस्टाचार गरेको छ। युवाहरु बेरोजगार छन्। यी सबै कुरा समाधान गर्ने योजना ल्याएको एसकेएम पार्टीलाई मैले समर्थन गरेको हुँ।’ मोर्चाका प्रवक्ता ज्याकभ खालिङले सिक्किममा २५ बर्षे एकछत्र शासनपछि अब परिवर्तन आवश्यक भएको बताए।
प्रभावन्यून राष्ट्रिय दल
करिब ६ लाख जनसंख्या भएको हिमाली राज्य सिक्किम भारतमा विलय भएसँगै भारतका राष्ट्रिय दलहरुले प्रभाव जमाउने प्रयास गरे। भारतीय कङगे्रस, भारतीय जनता पार्टी (भाजपा) लगायतहरुले सिक्किमका चुनावमा भाग लिए तापनि अहिलेसम्म उनीहरूले जित्न सकेका छैनन्।
पछिल्लो समयमा लोकसभा निर्वाचनमा छिमेकी राज्य पश्चिम बङ्गालको दार्जिलिङमा भाजपाका उम्मेद्वारले जिते पनि सिक्किममा त्यस्तो हुन सकेको छैन। यसपटकको चुनावमा ३२ वटा विधानसभा निर्वाचन क्षेत्रमा तीनवटा पार्टीले मात्र उम्मेद्वारी दिएका छन्।
हाम्रो सिक्किम पार्टीबाट पूर्वफुटबल खेलाडी भाइचुङ भुटिया पनि गान्तोक निर्वाचन क्षेत्रबाट उम्मेद्वार बनेका छन्। सिक्किम एउटा मात्र लोकसभा चुनावको सिट छ। लोकसभा चुनाव पनि त्यसै दिन हुँदैछ। (वीवीसी)