बनेपा - आज काभ्रेको भकुण्डेवेशीमा कांग्रेसले आमसभा गर्ने भएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति मधुप्रसाद आचार्यका अनुसार उक्त आमसभालाई पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्।
पार्टी सभापतिसहित केन्द्रीय नेता कृष्णप्रसाद सिटौला, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल र शिवप्रसाल हुमागाईंले पनि सभालाई सम्बोधन गर्ने भएका छन्।
जिल्ला सभापति आचार्यको सभापतित्वमा सञ्चालन हुने उक्त आमसभामा जिल्ला नेता इन्द्रमणी अधिकारी, तिर्थ पसःखल, तिर्थ लामालगायत पार्टीका क्षेत्रीय सभापतिहरुले पनि सम्बोधन गर्नेछन्।
केन्द्रमा देउवा र सिटौला अलग–अलग गुट बनाएर हिडिरहेको अवस्थामा पार्टीका सभापति र वरिष्ठ नेता सिटौलाले एउटै मञ्चबाट सम्बोधन गरी पार्टीको आन्तरीक एकताको सन्देश प्रवाह गर्ने बुझिएको छ।