गौशाला – महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गएराति इस्लाम धर्मको परम्परा निर्वाहका क्रममा १ बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका २ महिने छोरा फिरोज शेषको मृत्यु भएको बताए।
इस्लाम धर्मअनुसार बालक शेषको गएराति खतना (लिङ्गको टुप्पोमाथिको बाहिरी मासु काटिने काम) गरिएपछि अत्यधिक रक्तस्राव भएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्का बताउँछन्।
परिवारजनले धर्मगुरुहरू, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाई बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरी खतना गर्दा अत्यधिक रक्तस्राव भएको र रक्तस्राव नरोकिएपछि उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा बालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे विशेष अनुसन्धान गर्न तथा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी ल्याउन जिल्ला प्रहरी कार्यालयले आज (मंगलबार) बिहान त्यसतर्फ विशेष प्रहरी टोली पठाएको प्रहरी नायब उपरीक्षक खड्काले बताए। (रासस)