काबुल – पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार बम आक्रमणमा ज्यान गुमाउनेमा तीन अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक आतङ्ककारी समूहका सदस्य रहेका छन्।
बाग्राम हवाई अखाडा नजिकै सोमबार साँझ भएको यस आक्रमणमा घाइते भएका अन्य अमेरिकी सैनिकलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ।
पार्वान प्रान्तको बाग्राम जिल्लाको पुल ए बरिकमा भएको यस आत्मघाती आक्रमणमा बाटो हिँडिरहेका पाँच बटुवा पनि घाइते भएका अफगान जिल्ला प्रमुखले जानकारी दिए।
स्थानीय समयानुसार सोमबार साँझ ५ः४५ बजे सो आक्रमण भएको थियो। घाइते भएका सर्वसाधारणलाई नजिकैको सरकारी अस्पताल लगिएको प्रहरी प्रमुख नकिब खोहस्तिनीले बताए।
अफगानिस्तानको राजधानी काबुलबाट करिब ५० किलोमिटर उत्तरमा रहेको बाग्राम हवाई अखाडा नजिकै अमेरिकी र नेटो सैन्य शिविर रहेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। (रासस-सिन्ह्वा)