गाईघाट – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसभित्र अहिले चरम् गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको बताएका छन्।
उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जीपी फाउन्डेसन)को नयाँ कार्यालय स्थापनाका अवसरमा उनले पार्टीको मूल नेतृत्वकर्ताहरू नै अहिले विभिन्न गुटउपगुटमा लागेका कारण केन्द्रदेखि जिल्ला–जिल्लासम्म कांग्रेस साह्रै कमजोर बन्ने अवस्था आएको बताए।
केन्द्रीय सदस्य कोइरालाले हिजो सोमबार पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोहरू बिर्सेर आज (मंगलबार) कांग्रेसका केन्द्रीय नेतृत्वहरू एक्लाएक्लै हिँड्न खोज्दा कांग्रेस पार्टी कमजोर बन्न पुगेको जिकिर गरे।
अहिलेको जस्तो अवस्था रहिरहे आगामी दिनमा कांग्रेसको भविष्य सङ्कटमा पर्ने र देश नै अराजकतातर्फ जाने धारणासमेत नेता कोइरालाको रहेको छ। जीपी फाउन्डेसन स्थापनासँगै नेपाली कांग्रेसका उदयपुर जिल्ला पार्टी सचिव मदनराज कटुवाललाई सो फाउन्डेसनको संयोजकमा नियुक्त गरिएको छ। (रासस)