काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले एक वर्षमा कसैले गर्न नसकेको काम गरेर ईतिहास रचेको दाबी गरेका छन्।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘यो एक वर्षमा सरकारले कसैले नसोचेको काम गरेको छ। हामीले ऐतिहासिक काम गरेका छौँ। सरकारको पहिलो वर्ष आधार वर्ष भएको छ।’
मन्त्री महासेठले मुलुक एकात्मक शासन व्यवस्थाबाट संघात्मक शासन व्यवस्थामा प्रवेश गरेकोेले आफूहरुले सोहीअनुसार व्यवस्थापन गर्न समय खर्चिएको स्पष्ट पारे। उनले थपे, ‘तीन तहका सरकार निर्माण भएका छन्। तिनीहरुको लागि बजेट, साधनस्रोत, कर्मचारी र कार्यालयको व्यवस्थापन गर्यौं । योजनाहरु बाँडफाँड गरेका छौँ।’
मन्त्री महासेठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमै ८ सय किलोमिटर रोड पिच गरेको पनि दाबी गरे। उनले थपे, ‘६ लेन, चार लेन र २ लेनका ८ सय किलोमिटर सडक पिच भएको छ। सय भन्दा बढि पुलहरु बनेका छन्। ९ सय वटा त नयाँ ट्रयाकहरु खुलेको छ।’
सरकारले विकास निर्माणका कामलाई पनि द्रुत गतिमा अघि बढाएको उनले जानकारी दिए। उनले भने, ‘रेलमार्गलगायतका कामहरु अघि बढेका छन्। पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सुरु भैसकेको छ।’
त्यस्तै, काठमाडौं-केरुङ र रक्सौल-काठमाडौं रेलमार्गको लागि प्रि-फिजिविलटीको काम सम्पन्न भएको उनले बताए। उनले क्रस बोर्डर रेलवे निर्माणको काम भैरहेको बताए। यही आर्थिक वर्षभित्र जयनगर-जनकपुर रेल सञ्चालनमा आउनेपनि उनले स्पष्ट पारे ।
समग्र यातायात क्षेत्रलाई व्यवस्थित गर्नको लागि यातायात प्राधिकरण गठन गर्ने तयारी भइसकेको पनि उनले जनाए। मन्त्री महासेठले पानीजहाज कार्यालयको व्यवस्थापनसँगै रजिष्ट्रार नियुक्ति गरिएको बताउँदै भने, ‘२-३ चोटी सर्वे भैसकेको छ। गण्डकसम्म प्राविधिक टिम पुगेर फर्किएको छ।’
सरकारको कामको बारेमा पार्टीभित्र कुनै विरोध तथा असन्तुष्टि नरहेको पनि उनले स्पष्ट पारे। उनले भने, ‘ईतिहासमा कसैले गर्न नसकेको काम यो सरकारले गरेको छ।’ महासेठले वर्तमान सरकार कुनै पनि कोणबाट असफल नभएको जिकिर गरे। यद्धपी उनले विकास निर्माण र समृद्धि रातारात हुने कुरा नभएको भन्दै केही समय लाग्ने स्पष्ट पारे।
निर्माण कार्यमा गलत गर्नेहरुलाई सरकारले कारवाही गरिरहेको पनि उनले स्पष्ट पारे। उनले भने, ‘पप्पु कन्स्ट्रक्शनलाई नेपालगञ्जको पुल ठेक्कामा ५ करोड ७२ लाख जरिवाना गरिसकेका छौं। हामीले त्यो पुल बनाउने गरी उपाय पनि दिएका छौँ। समस्याको समाधान गर्नुपर्छ । सरकार गम्भिर छ।’