काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि आज (सोमबार) देशैव्यापि प्रदर्शन गर्ने भएको छ। पहिलो चरणको संघर्षका कार्यक्रम अन्तर्गत आजबाट केन्द्रमा सिंहदरबारदेखि प्रदेशमा मुख्यमन्त्रीको कार्यालय र जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिने राप्रपाले जानकारी दिएको छ।
हिन्दु राष्ट्र पुनःस्थापनाका लागि राप्रपाले यस अघि नै संघर्षका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको हो। राप्रपाले नेपाललाई धर्मसापेक्ष हिन्दु राष्ट्र घोषणा गरिनु पर्ने, राजासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नु पर्ने, संघियताबारे राष्ट्रिय जनमत संग्रह गर्नु पर्ने, बेरोजगारी समस्या र महंगी तथा भ्रष्टाचार अन्त्य गर्नुपर्ने मागसहित संघर्षका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
केन्द्रको प्रशासनिक निकायमा हुने धर्नाको नेतृत्व अध्यक्ष कमल थापा आफैले गर्दै छन्। प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सोमबार दिउँसो १ बजेपछि राजधानीको प्रदर्शनीमार्गस्थित पद्मोदय मोडमा धर्ना शुरु हुनेछ।
राप्रपाले ८ वैशाखसम्मका लागि पहिलो चरणको संघर्षको कार्यक्रम तय गरेको हो। जसअन्तर्गत राप्रपाले संघर्षको कार्यक्रममको मुख्य एजेण्डा बनाइएको हिन्दु धर्म पुनःस्थापनाको मागलाई लिएर देशैभरी हस्ताक्षर संकलन अभियान समेत जारी राखेको छ।
राप्रपाले गत ७ फागुनबाटै प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र पुनः स्थापनाका लागि दबाब दिन १५ दिने मेची—महाकाली अभियान समेत सञ्चालन गरेको थियो।