लन्डन – बेलायतले युरोपेली संघ नलेखेको राहदानी जारी गर्न शुरु गरेको छ। युरोपेली संघबाट बाहिरिने निर्णय गरेको बेलायतले आफ्नो राहदानीको बाहिरको भागमा लेखिएको युरोपेली संघ शब्द हटाएको आन्तरिक मामिला मन्त्रालयले शनिबार जानकारी दिएको छ।
संघबाट बाहिरिने निर्णय बेलायतले पूर्ण रूपमा कार्यान्वयन गराउन नसकिरहेको बेला गत मार्च ३० देखि नयाँ राहदानी जारी गरेको हो। राहदानीमा ‘युरोपियन युनियन’ लेखेको भएर वा नभएर बेलायती नागरिकलाई यात्रामा कुनै फरक नपर्ने पनि मन्त्रालयले जनाएको छ।
संसदका विपक्षी दलहरूको विरोध हुँदाहुँदै पनि प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघबाट बाहिरिने निर्णयलाई कार्यान्वयन गराउने प्रयास गरिरहेका छन्। बेलायतका अधिकांश सांसदले तीन पटकसम्म ब्रेजिक्टलाई अस्वीकार गरिसकेका छन्।
सरकारले साझा सहमति तयार गर्ने प्रयास स्वरूप मुख्य विपक्षी दल लेबरसँग वार्ता पनि शुरु गरेको छ। तर, वार्ताले ब्रेजिक्टलाई पारित गराउने गरी सहमति जुटाउने सम्भावना भने कम रहेको अधिकारीहरूले बताएका छन्। (एएफपी)