काठमाडौँ - राष्ट्रिय जनता पार्टीको वैशाख पहिलो साता निर्धारित महाधिवेशन पछि सर्ने भएको छ । ६ पार्टी मिलेर बनेको राजपाको एकताका २ वर्ष बित्न लाग्दा पनि महाधिवेशन हुन सकेको छैन ।
पछिल्लो समय वैशाख ७ देखि ९ का लागि तय भएको महाधिवेशन पनि तयारी नपुगेको भन्दै सार्न लागिएको हो । आगामी असारभित्र महाधिवेशन नसके राजपाको वैधानिकतामाथि नै प्रश्न उठ्छ ।
२०७४ असार ३० मा निर्वाचन आयोगले ६ पार्टीको एकीकरणलाई वैधानिकता दिएको थियो । त्यसका आधारमा असार मसान्तमा एकताको दुई वर्ष पुग्छ । दुई वर्षभित्र महाधिवेशन गरिसक्ने राजपाको विधानमा छ । त्यसैले विधानअनुसार महाधिवेशन नगरे उसको वैधानिकतामाथि नै प्रश्न उठ्छ । निर्धारित मितिमा नहुने भएपछि यसबारेमा छलफल गर्न राजपाले आउँदो सोमबार अध्यक्षमण्डलको बैठक बोलाएको छ । बैठकले महाधिवेशनको नयाँ मिति तोक्ने सम्भावना छ ।
राजपाका नेता केशव झाका अनुसार महाधिवेशनका लागि सदस्यता लिने र नवीकरण गर्ने काम चैत १५ मा सकिएको छ । सदस्यताको अन्तिम टुंगो लागेपछि जिल्ला अधिवेशन पनि गर्नुपर्नेछ । त्यो काम नै सुरु भएको छैन ।
राजपामा हाल ६ जनाको अध्यक्षमण्डल छ । सबैले पालैपालो नेतृत्व गर्ने भएकाले नेताहरूका आन्तरिक टकराव पनि छन् ।
केही समयअघि अध्यक्षमण्डलकै नेताहरूबीच विवाद भएपछि राजपाका आन्तरिक गतिविधि सहज रूपमा सञ्चालन हुन सकेका थिएनन् । त्यसको प्रभाव अहिले महाधिवेशनमा पनि परेको छ । ‘६ जनाको नेतृत्व भएकाले भावी महाधिवेशनबाट कसले नेतृत्व हत्याउने भन्ने आन्तरिक खेल पनि चलिरहेको छ । त्यसले महाधिवेशन समयमै गर्नमा केही समस्या आएको हो,’ अध्यक्षमण्डलकै एक नेताले भने । अहिले अध्यक्षमण्डलमा ६ जना भए पनि आउँदो महाधिवेशनबाट एकल नेतृत्व प्रणालीमा जानेमा नेताहरू सहमत भइसकेका छन् ।
महाधिवेशनपछि महन्थ ठाकुर र राजेन्द्र महतोमध्ये कसको नेतृत्व हुने भन्नेमा आन्तरिक खेलकुद छ । ठाकुर तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाका तथा महतो तत्कालीन सद्भावना पार्टीका अध्यक्ष हुन् । तमलोपा र सद्भावना दुवैको पुरानो राजनीतिक लिगेसी र संगठनात्मक पृष्ठभूमिसमेत भएकाले नेतृत्वका लागि उनीहरूकै रस्साकसी छ । महेन्द्र यादव, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवका छुट्टाछुट्टै समूह पार्टीमा छन् ।
ती अन्य चार समूहमध्ये जसले आफ्नो पक्षमा बढीलाई तान्छन्, त्यसले नै नेतृत्व लिने सम्भावना छ । त्यसैले महाधिवेशनपछिको नेतृत्वको हिसाबकिताब मिलाउन पनि महाधिवेशन पर धकेलिन लागेको एक नेताले बताए ।
अनौपचारिक वार्ता जारी
महाधिवेशनको तयारीसँगै राजपा र संघीय समाजवादी फोरमबीच एकताका लागि वार्तासमेत चलिरहेको छ । दुवै दल गत चुनावमा गठबन्धन बनाएर गएका थिए ।
गठबन्धनको परिणाम राम्रो आएपछि दुवै एकता प्रक्रियाका लागि अघि बढ्न तयार भएका हुन् । उनीहरूबीच एक चरणमा पत्र आदानप्रदान भइसकेको छ । दुवै दलका नेताबीचको अनौपचारिक कुराकानीले एकताको ठोस आधारचाहिँ लिइसकेको छैन । यो समाचार कान्तिपुर दैनिकले छापेको छ।