काठमाडौँ - कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा सञ्चालन गर्ने चेतावनी दिएका छन्। केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष जिल्ला सभापतिको भेलाले निर्णय गरेको हो।
केन्द्रीय समितिले बहुमतका आधारमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्थासहितको विधान पारित गरेपछि जिल्ला सभापतिहरू आन्दोलित बनेका हुन्। पार्टीका असन्तुष्ट ५४ जिल्ला सभापतिको बिहीबार काठमाडौंमा सम्पन्न बैठकले आगामी केन्द्रीय समिति बैठकबाट विधान परिमार्जन गर्नुपर्ने चेतावनि दिएको छ।
कांग्रेसमा बहुमत जिल्ला सभापतिहरू वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर छन्। जिल्ला सभापति भेलामा पौडेल र सिटौला पक्षकै आयोजनामा भएको थियो।
काभ्रे कांग्रेस सभापति मधुप्रसाद आचार्यले शनिबार बस्ने केन्द्रीय समिति बैठकबाट विधान परिमार्जन हुने अपेक्षा गरेका छन्। उनले भने, ‘पार्टी नेतृत्वले महासमितिमा गरेको प्रतिबद्धता र अहिले हामीले गरेको आग्रह स्वीकार गरेर विधान परमार्जन गर्नुपर्छ। नेतृत्वले बेवास्ता गरे हामी विशेष महाधिवेशनकै लागि दबाब दिन्छौं।’ कांग्रेस केन्द्रीय समितिको बैठक चैत २३ गते शनिबार बस्दैछ।