भक्तपुर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कुनै पनि आलोचनाले सरकारको गति नरोकिने बताएका छन्। उनले सरकारप्रति भएका आलोचना स्वाभाविक भएकाे बताए।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले नयाँ वर्षको अवसरमा आज (बुधबार) यहाँ आयोजना गरेको ‘पाँचाैँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५’ को उद्घाटनमा उनले यस्ताे बताएका हुन्।
पूर्वप्रधानमन्त्री नेपालले भने, “सरकार आलोचनाले पछाडि हट्दैन, विकास र समृद्धिको अभियानमा सरकार निरन्तर अगाडि बढिरहन्छ।” सरकारले विकासका लागि अघि सारेको अभियान सकारात्मक रहेको औँल्याउँदै उनले सरकारको अभियानलाई सबैले सघाउनुपर्नेमा जोड दिए।
बारा र पर्सामा विनाशकारी हुरीले ल्याएको विपद्प्रति दुःख व्यक्त गर्दै उनले पीडित नागरिकलाई सबै तर्फबाट सहयोग पुर्याउनुपर्ने बताए।
उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले भक्तपुरको सल्लाघारीमा आजबाट शुरु भएको मेला दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न प्ररकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकल, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवर्द्धन गर्ने स्टल रहेको संस्थाका अध्यक्ष सन्दीप महतले बताए।
मेलामा अटोमोबाइल, अन्तर्राष्ट्रिय खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, अन्तर्राष्ट्रिय स्टल, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल रहेको उनले बताए। मेलामा विक्री गरिने सामानमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको मेलाका संयोजक दीपक थापाले जानकारी दिए।
करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने र रु. १० देखि १२ करोडको कारोबार हुने अपेक्षा गरिएको उनले बताए। मेलामा खुला भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको छ।
मेलामा हरेक दिन विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछ। बाल उद्यान, रोटी पिङ, मारुती सर्कस, कोलम्बस, जादू, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामग्रीका साथै ४ दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारको हास्यव्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुति रहनेछ।
मेलाबाट भएको आम्दानीबाट केही रकम क्यान्सर वा मिर्गौलापीडित बिरामीलाई आर्थिक सहयोग प्रदान गरिने आयोजकले जनाएको छ। (रासस)