काठमाडौँ, १९ पुस। सरकारको काम प्रभावविहीन भएको भन्दै आलोचना बढिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्लाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले बिहीबार प्रतिनिधिसभाको तेस्रो अधिवेशनमा सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा संसद्लाई सम्बोधन गर्न लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन्।
सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले संसद्मा वाइडबडी विमान प्रकरणबारे पनि बोल्ने बताइएको छ। यो प्रकरणमा प्रम ओलीले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
वाइडबडी विमान खरिद प्रकरणबारे छानबिन गर्न गठित उपसमितिले मंगलबार बुझाएको प्रतिवेदनमा पर्यटनमन्त्री सहितलाई कारवाही गर्न सिफारिस गरेको छ। विमान खरिद गर्दा चार अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचार भएको जनाइएको छ।