काठमाडौँ – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका ५६ जिल्ला सभापतिहरुको बैठक आज काठमाडौँमा बस्दैछ। गत पुसमा सम्पन्न महासमिति बैठकको निर्णयलाई केन्द्रीय समितिको बैठकले अवज्ञा गरी उल्ट्याएको बिरुद्धमा बहुमत जिल्ला सभापतिहरुले आजको बैठक आह्वान गरेका हुन्।
जिल्ला सभापतिहरुको संयोजक मधुप्रसाद आचार्यका अनुसार बैठक राजधानीको ठमेल स्थित एक होटेलमा बस्ने भएको छ। अत्यन्तै गोप्य तरिकाले आयोजन गरिएको यस बैठकमा जिल्ला सभापति बाहेक अन्यलाई प्रवेश निषेध गरिएको आचार्यले बताए। आचार्य नेपाली कांग्रेस जिल्ला कार्य समिति काभ्रेका सभापति हुन्।
बैठकबारे नेपाली पब्लिकलाई जानकारी गराउँदै आचार्यले भने, ‘जिल्ला सभापतिहरुको यो बैठक पार्टीका कुनै नेताका बिरुद्धमा नभएर नीतिका बिरुद्धमा हुन लागेको हो। महासमिति बैठक भन्दा केन्द्रीय समिति ठूलो होइन भन्ने पार्टी विधानले निक्र्योल गरेको छ तर महासमिति बैठकले निर्णय गरेको दुई वटा विषयलाई केन्द्रीय समितिले उल्ट्याएको छ। विधानअनुसार महासमितिको निर्णयलाई केन्द्रीय समितिले उल्ट्याउन सक्तैन।’
कांग्रेस महासमिति बैठकले १५ वटा समसामयिक निर्णयहरु पारित गरेको थियो। त्यस मध्ये केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु पनि पार्टीको तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने, आरक्षण र समानुपातिक कोटामा चयन हुने व्यक्ति पटक–पटक दोहोरिन नपाइने भन्ने निर्णय पारित गरिएको थियो। तर यिनै दुई महत्वपूर्ण निर्णयलाई केन्द्रीय समितिले उल्ट्याएर महासमितिको अवज्ञा गर्यो।
केन्द्रीय समितिको यहि अवज्ञाका बिरुद्धमा पार्टीका बहुमत जिल्ला सदस्यहरु रुष्ट बनेका छन्। यसअघि पार्टीका सभापतिलगायत वरिष्ठ नेताहरुलाई भेटेर जिल्ला सभापतिहरुले महासमिति बैठकको निर्णयलाई हुबहु पालना गर्न अनुरोध गरेका थिए।
आफ्नो अनुरोधलाई पार्टीका नेताहरुले नसुनेपछि ५६ जिल्ला सभापतिहरुले सार्वजनिक रुपमा प्रेस विज्ञप्त निकालेर सच्चिन आग्रह गरेका थिए। प्रेस विज्ञप्ति पछि पनि केन्द्रीय समितिको बैठक बसेको थियो। तर जिल्ला सभापतिहरुले उठाएका मुद्धाको सुनुवाई गरेन।
त्यसपछि जिल्ला सभापतिहरुले आगामी रणनीति तय गर्न निम्ति सभापतिहरुको भेला बोलाएको संयोजक आचार्यले जानकारी दिए। भेलामा सहभागि हुने ५६ जना सभापतिहरु पार्टी सभापति शेर बहादुर देउवाको विपक्षी मानिन्छन्।
जिल्ला सभापतिहरुको यो भेलाले पार्टी नेतृत्वलाई कार्यकर्तामूखि र कार्यकर्तालाई पार्टीबाट मुल्याङ्कनको प्रत्याभुत गराउने विषयमा केन्द्रित रहने संयोजक आचार्यले नेपाली पब्लिकलाई जानकारी दिए।
‘दुई दिनको लागि तय गरिएको जिल्ला सभापतिहरुको यो बैठक आवश्यकताअनुसार लम्बिन पनि सक्छ’, आचार्यले भने,‘हामी पार्टीबाट उत्पन्न सबै परिस्थितिको समिक्षा गर्नेछौं र पार्टीका कुन कुन नेताहरु हामीले उठाएका मुद्दाहरुको सर्मथनमा छन्, त्यसको पनि मिहिन ढंगले समिक्षा गर्नेछौँ।’
यो भेलापछि पनि पार्टीले आफ्नो निर्णयमाथि पुनःविचार गरेन भने आवश्यकताअनुसार पार्टीको विशेष महाधिवेशनसम्म जान सक्ने आचार्यले बताए।