काठमाडौँ - सरकारले रबैयातन्त्रको शुरुवात गरेको भन्दै त्यसको विरुद्धमा ११ संयुक्त विद्यार्थी संगठनहरुले चैत्र २९ गते विरोध सभाको आयोजना गर्ने घोषणा गरेका छन्।
सरकारले मूलधारको राजनीति गरिआएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएको र विखण्डनको नारा घन्काउने सिके राउतलाई संरक्षण गरेको भन्दै त्यसको विरुद्धमा विरोध सभा गर्न लागिएको संयुक्त ११ विद्यार्थी संगठनले जानकारी दिएको छ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा सयुंक्त विद्यार्थी संगठनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहले सरकारले दुई तिहाईको दम्भ देखाएर जनतालाई निराश पारेको आरोप लगाए।
उनले सरकारले ‘विप्लव’माथि लगाएको प्रतिबन्ध गलत रहेको बताउँदै तत्काल वार्तामा बोलाउन सरकारलाई आग्रह गरे। उनले देशमा हिंसा र अधिनायक प्रवृत्ति नदेखाउन पनि सरकारलाई चेतावनी दिए। अनेरास्ववियू पाँचौका अध्यक्ष घनश्याम मिश्रले चुनावको समयमा गरेको वाचाहरुप्रति सरकार गम्भिर नबनेको आरोप लगाए। वर्तमान सरकारको गतिविधि ठीक नभएको भन्दै उनले सरकारले निजी क्याम्पसहरुलाई प्रश्रय दिँदै गएर त्रिभुवन विश्वविद्यालयलाई विघटन गर्ने षडयन्त्रमा लागेको आरोप लगाए।
नयाँ शक्ति विद्यार्थी यूनियनका अध्यक्ष श्यामबाबु गौतमले अबको आन्दोलन प्रतिपक्ष यूनियनको आन्दोलन भएको बताए। अहिले देश बिभिन्न काण्डै–काण्डको कालो दाग बोकेर बाँचिरहेको उनको भनाई छ। सरकारले न्यायको नाममा जनतालाई आश्वासनबाहेक अरु कुनै ग्यारेन्टी नगरेको भन्दै उनले निर्मला पन्तको हत्यारा समात्न सरकार किन असफल भयो भन्दै आक्रोस पोखे। सीके राउतलाई सरकारले अंगालो हालेर देशमा बिखण्डनकारी तन्त्रको उदय गरेको पनि उनले आरोप लगाए।
नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रविण मिश्रले सरकारको प्रवृत्ति देखेर आफुहरुले कालो ब्यानरमा कार्यक्रमको आयोजना गरेको जनाए। अहिले शिक्षामा व्यापारीकरण र निजीकरण व्याप्त रहेको बताउदै उनले मेडिकल शिक्षाको नाममा सरकारले पैसा कमाईरहेको आरोप लगाए। नागरिकको वाक स्वतन्त्रतामा रोक लगाएको भन्दै उनले सत्ताको दुरुपयोगमा नलाग्न सकारलाई चेतावनी दिए।
राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्यालले सरकारका कारण नागरिकको दिनचर्या तहसनहस भएको भन्दै आक्रोस पोखे। अहिले लाखौं युवाहरु विदेश पलायन भएको बताउँदै उनले स्वदेशमै केही गर्न मिल्ने खालको शिक्षा विकासमा सरकार लाग्नुपर्ने ध्यानकार्षण गराए।
त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय विद्यार्थी संघका महासचिव रञ्जित निष्पक्षले बारा, पर्सालगायतका जिल्लामा हालै भएको हावाहुरीजस्ता प्राकृति बिपतको घटनालाई सरकारले राष्ट्रिय शोकको रुपमा घोषणा नगरेकोमा घोर आपत्ति रहेको बताए। सरकारले हेलिकप्टरबाट हेर्देमा पीडितहरुको समस्या सम्बोधन नहुने बताउदै उनले तुरुन्त पीडित लक्षित कार्यक्रम र क्षतिपूर्तिको घोषणा गर्न पनि सरकारसँग जोडदार माग राखे।
क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले सरकार सर्वसत्ताको ढंगबाट अगाडि बढेको भनाई राखेका थिए। राज्य व्यवस्था ठीक नभएको भन्दै उनले सरकारले शिक्षामा उचित वातावरणको सिर्जना गर्नुपर्ने धारणा राखे।
समाजवादी फोरमका अध्यक्ष विवेक राईले देशमा भएको परिवर्तनमा विद्यार्थीहरुको ठूलो योगदान रहेको स्मरण गराए। सरकारले सत्तामा पुग्न जनतालाई झुठा आश्वासनमात्रै बाँडेको उनको आरोप छ। उनले भने, ‘जनतासामू आश्वासन बाँड्नुभन्दा सरकारले काम गरेर देखाउनुपर्छ।’
अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले चैत्र २९ गते राष्ट्रिय सभागृहमा फरक धारका व्यक्तिहरुको एउटै मञ्चमा भेटघाट हुने जनाए। अहिल देशमा अबौँका घोटालाहरु भएको भन्दै उनले आजसम्म भएका घोटाला तथा भ्रष्टाचार गरेको पैसा फिर्ता नभएको स्मरण गराए।