काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एसियाको उदाउँदो ताराका रूपमा चित्रित गरिएकामा आफूहरूलाई गौरवबोध भएको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज (आइतबार) यहाँ आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च भएकाले सो सम्मेलनले नेपालको विकासका लागि थप प्रेरणा दिएको बताए।
उनले भने, “सरकार स्पष्ट सोचका साथ आर्थिक–सामाजिक रूपान्तरणको दिशामा अघि बढेको छ। यसमा हामी छिमेकी भारत र चीनको सहयोग लिँदै अन्तर्राष्ट्रिय समुदायको साथ पनि लिएर अघि बढ्नेछौँ।”
मन्त्री ज्ञवालीले नेपाललाई कुनै मुलुकसँग वैरभाव नगर्ने र सबैसँग मित्रभाव राख्ने विदेश नीतिको निरन्तरतासहित समृद्धिको यात्रामा अघि बढाउन सञ्चार क्षेत्रको पनि उत्तिकै सहयोगको अपेक्षा गरे।
गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मुलुकमा समृद्धिका लागि उचित वातावरण मिलेकाे जनाउँदै विदेशीको मुख मात्र नताकी नेपालीहरू नै जागृत भएर आर्थिक विकासमा लाग्नुपर्ने बताए। (रासस)