काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज (आइतबार) त्यसतर्फ जाँदै छन्।
दुईदिने झापा र मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ।
उनले दमक नगरपालिका परिसरमा आजै अपराह्न आयोजना हुने प्रदेश नं. १ स्तरीय साहित्यिक गोष्ठीको उद्घाटन गर्नुका साथै मदन भण्डारी रङ्गशालासम्बन्धी छलफलमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो।
प्रधानमन्त्रीले आजै गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरूसँग पनि भेटघाट एवं छलफल गर्नेछन्। त्यस्तै भोलि बिहान उनी दमक रेडक्रस हलमा आयोजना हुने नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्।
भोलि नै प्रधानमन्त्री ओलीले दमकमा निर्माण भएको पशुपक्षी हाटको उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ। (रासस)