काठमाडौँ – सामूहिक चेतना अभिवृद्धिका लागि आज (आइतबार) साँझ ५ बजेदेखि एकै समय एकैसाथ विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ।
वैदिककालमा गुरु–चेला परम्पराबाट चल्दै आएको यो ध्यान ओझेलमा परेकामा आधुनिक कालमा महर्षि महेश योगीले विश्वभर पुनःजागरण गरेका थिए। भावातीत ध्यान आज बेलुकी ५ बजेदेखि महर्षि अभियान लागू भएका १ सय ९२ देशका ध्यान केन्द्रमा एकसाथ प्रारम्भ गरिने भएको छ।
विश्व शान्तिका लागि विश्वभर एकसाथ ध्यान र सिद्धि कार्यक्रम आयोजना गरिएको नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए। विश्वका करिब १ करोड भावातीत ध्यानीले बिहान बेलुका आफ्नो अनुकूलअनुसार दुईपटक ध्यान गर्ने गरेकामा सामूहिक चेतना अभिवृद्धिका लागि बेलाबेलामा एकसाथ ध्यान र सिद्धि कार्यक्रम गरिन्छ।
नेपालका ८२ गुरुकुल, १ दर्जन विद्यालय र ५ ध्यान केन्द्रमा बेलुकी ५ बजेदेखि ध्यान, ५ बजेर २० मिनेटदेखि सिद्धि सूत्र अभ्यास गरिँदै आएको फाउन्डेसनले जनाएको छ।
भावातीत ध्यान सिकेका साधकले नजिकको ध्यान केन्द्र वा घरमै बसेर पनि ध्यान गरी सामूहिक चेतना वृद्धि अभियानमा सहभागी हुनसक्ने अध्यक्ष बाँस्कोटाले बताए।
वैदिक ज्ञान विश्वव्यापी जागरणका लागि नेपालले नेतृत्व गर्नसक्छ भन्ने अभिव्यक्ति महर्षि योगीले दिएकाले उनका अनुयायीले हाल नेपालमा यो कार्यक्रमलाई विस्तार गर्न थालेका छन्। महर्षि योगीले ज्योतिर्मठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीबाट उक्त ध्यान सिकी विश्वभर प्रचार गरेका हुन्। (रासस)