चितवन – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन्।
नेपाली कांग्रेस चितवनले आज (आइतबार) यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ।”
नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँछ भने।
गणतन्त्र र सङ्घीयता कांग्रेसको एजेन्डा रहेको उल्लेख गर्दै उनले कम्युनिष्टहरू जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए। नेता कोइरालाले सरकारले चौतर्फी रूपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रको हस्तक्षेप मान्य नहुने बताए।
कांग्रेसका नेत्रीद्वय सीता गुरुङ र डा. डिला सङ्ग्रौलाले कांग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताए। कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता देवराज चालिसे, जिल्ला उपसभापति कैलाश कोइराला लगायतले पार्टीको संस्थागत विकासमा जोड दिनुपर्ने बताए। (रासस)