कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका (ब्रह्मदेव) को सडक निर्माणमा भारतीय पक्षले अवरोध गरेको छ । ब्रह्मदेव बजारदेखि नेपाल-भारत सीमासम्म टनकपुर ब्यारेज जोड्ने सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको हो ।
टनकपुर ब्यारेजदेखि साढे ११ सय मिटर सडक यसअघि भारतले निर्माण गरिसकेको छ । उक्त सडक जोड्ने गरी भइरहेको निर्माणमा अवरोध गरिएको हो । एसएसबीले दशगजा क्षेत्रमा पर्ने भन्दै तत्काल कुनै पनि निर्माण हुन नदिने जनाएको छ । सडक निर्माणका लागि शुक्रबार बिहान डोजरसहित पुगेका निर्माण कम्पनीका ठेकेदारको टोलीलाई उनीहरूले रोकेका हुन् ।
‘हामी डोजर लगाएर सडक सम्याउन खोज्दै थियौं, त्यही बेला एसएसबी आएर काम रोक्न भने,’ सडक निर्माणको ठेक्का पाएको न्यु जोशी निर्माण कम्पनीका सञ्चालक भीम जोशीले भने, ‘यो दशगजा हो यहाँ कुनै पनि निर्माण हुँदैन भन्न थाले ।’ उनले काम गर्न पाउने आसमा दिनभर ब्रह्मदेवमै बसेको बताए ।
भीमदत्त नगरपालिकाले ब्रह्मदेव बजारदेखि सीमासम्म १३८ मिटर सडक निर्माणका लागि ७२ लाखमा न्यु जोशी निर्माण कम्पनीलाई ठेक्का दिएको हो । यसै आर्थिक वर्षभित्र काम सक्ने गरी कम्पनीले काम सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, सशस्त्र प्रहरीको ३५ नम्बर गणका एसपी विनोदराज श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका एसपी दिनेश आचार्यले शुक्रबार सडक निर्माणका विषयमा भारतीय एसएसबी र चम्पावतका एसडीएमसँग छलफल गरेका थिए ।
उनीहरूले ब्रह्मदेवमै पुगेर निर्माण सुचारु गर्ने विषयमा छलफल गरेका हुन् । ‘भारतको लोकसभा चुनावका विषयमा बुधबार सीमा बैठक बस्दै छ, त्यहाँ यो विषयमा कुरा हुनेछ,’ प्रजिअ वैद्यले भने, ‘ऊक्त बैठकमा संयुत्त सीमा सर्भे टोलीलाई पनि बोलाउने कुरा भएको छ ।’ उनका अनुसार भारतीय पक्षले संयुक्त सीमा सर्भे टोलीलाई छिटो बोलाएर विवाद समाधान भएपछि मात्रै सडक निर्माण हुने अडान लिएका छन् ।
यसअघि भारतीय पक्षले पुस महिनामा टनकपुर ब्यारेजदेखि ब्रह्मदेव बजारसम्मै करिब १३ सय मिटर सडक निर्माणका लागि ठेक्का दिएको थियो । सीमाभन्दा निकै वर आएर निर्माण हुन लागेपछि स्थानीयले विरोध जनाएका थिए । स्थानीयको विरोधपछि सीमासम्म मात्रै सडक निर्माण गरेको हो । ‘अहिले त्यही निहुँ खोजेर हामीलाई सडक निर्माणमा अवरोध गरिएको हो,’ वडा नम्बर ९ का अध्यक्ष राम नाथले भने, ‘हामीलेआफ्नो क्षेत्रमा आफैं सडक बनाउँछौं भन्दा पनि अवरोध भयो ।’ उनले ८११ नं। सीमा स्तम्भ महाकाली नदीको बीचमा भए पनि भारतीय पक्षले अहिलेको ब्रह्मदेव बजारमै पर्ने दाबी गरिरहेको बताए ।
दुई दिनअघि मात्रै ब्रह्मदेव बजार छेउमै मुक्त हलिया पुनःस्थाफना कार्यक्रम अन्तर्गत निर्माणाधीन घरको कामसमेत एसएसबीले रोकेको थियो । मुत्त हलिया, खडक सार्की, बलराम सार्की र गगन सार्कीलाई घर निर्माणमा अवरोध भएको हो । ‘हामी यहीँ जन्मियौं, यही हुर्कियौं केही भएन,’ खडकलेभने, ‘तर आज सरकारबाट अनुदान पाएर घर बनाउँदा एसएसबीले रोक्न थाल्यो ।’ यो समाचार कान्तिपुर दैनिकले छापेको छ।