गोरखा – १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका घटनालाई बल्झाएर पीडितलाई थप पीडा दिन नहुनेमा सरोकारवालाले जोड दिएका छन्।
द्वन्द्वपीडितले द्वन्द्वका बेला भएका घटनालाई उठाएर मतभेद सिर्जना गर्नुभन्दा पीडितलाई न्याय दिनेतर्फ सबै पक्ष लाग्नुपर्ने बताए। सदरमुकाममा ‘चहराइरहेका घाउ’ वृत्तचित्र प्रदर्शनी कार्यक्रमका सहभागी यस्ताे बताएका हुन्।
द्वन्द्वका बेला आफन्त गुमाएका, बेपत्ता भएका, घाइते तथा विभिन्न यातना भोग्न बाध्य द्वन्द्वपीडितले पीडा सबैको एउटै किसिमको हुने भएकाले न्यायका लागि सबै द्वन्द्वपीडित एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए।
“अब विगततिर फर्किएर मात्र हुँदैन,” द्वन्द्वका बेला घाइते भएका गण्डकी गाउँपालिका–७ का अङ्कुर तिमल्सिनाले भने, “सबैका समस्या उस्तै छन्। हामीलाई देखाएर घाउ बल्झाउने काम मात्र भयो, मिलेको मनमा फेरि फाटो ल्याउने काम कसैले गर्नुहुँदैन।”
तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबाट मानवअधिकार हननका जघन्य घटना भएकाले सरकारले सही ढङ्गले सम्बोधन गर्नुपर्नेमा पीडितले जोड दिए। “समाजमा घृणा र आवेग सिर्जना गराउनु हुँदैन,” तिमिल्सनाले भने।
द्वन्द्वका बेला भएका घटनाको छानबिन र सत्यतथ्य पत्ता लगाउन गठित आयोगलाई सक्रिय बनाउनुपर्ने उनको भनाइ छ। “द्वन्द्वपीडितका परिवारका लागि रोजगारी र परिचयपत्र आवश्यक छ,” उनले भने।
द्वन्द्वपीडित विलास भट्टराईले आफूले ४ वर्षसम्म विभिन्न यातनासहित जेलनेल भोग्नुपरेको भए पनि अहिले पीडा बिर्सिएको बताए। उनले भने, “पीडा सबैलाई भएको छ, दोषजति सबै अरूलाई देखाएर आफू निर्दोष बन्ने परिपाटी बन्द हुनुपर्छ।”
यस्तै सिरानचोक गाउँपालिका–४ छोप्राककी शारदा घिमिरे स्थानीय सरकारले भन्दा पनि सङ्घीय सरकारले नै द्वन्द्वपीडितको घाउमा मलमपट्टी लगाउने खालका कार्यक्रम ल्याउनुपर्ने बताउँछिन्। (रासस)