सिन्धुली - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु गलत भएको टिप्पणी गरेका छन्। नेपाल प्रेस युनियन सिन्धुलीले शनिबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन्।
‘कुनै पनि समूहलाई दबाबमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदममा पुनःविचार गर्नुपर्छ’, उनले भने। सरकारले विप्लव समूहका क्रियाकलापहरु हिंसात्मक भएको भन्दै फागुन २७ गते प्रतिबन्ध लगाएको थियो।
उनले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताए। ‘ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार आफ्नो साथमा लिँदा लोकतन्त्र नै खतरामा परेको छ’, उनले भने।
राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत संग्रह गर्न नसकिने उनले बताए । नेपाली कांग्रेसले आइतबारदेखि ‘मधेश संवाद अभियान’ सञ्चालन गर्न लागेको पनि नेता पौडेलले जानकारी दिए।
कांग्रेस प्रमुख प्रतिपक्षी दल भएपनि संस्थागत रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ थियो। आफूले अहिले पार्टी नेतृत्वभन्दा पनि पार्टीमा देखिएको गुटको अन्त्य र पार्टीलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको उनले बताए। ‘समय आए नेतृत्व लिन तयार छु’, नेता पौडेलले भने।
नेता पौडेलले एक वर्षको अवधिमा सरकार पूर्ण असफल भएको दावी गरे । उनले भने, ‘शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार पूर्ण असफल भयो ।’