रुपन्देहीँ । महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड चार लेनमा विस्तारको काम शुक्रवारबाट शुरु भएको छ । हाल यो सडक दुई लेनको छ । महेन्द्र राजमार्गको १ हजार २७ किलोमिटर सडक खण्डमध्ये बुटवल–नारायणगढ ११४ किलोमिटर सडक बस्तीमा छ लेन र जंगलमा चार लेनमा विस्तार गर्न थालिएको हो । ११४ किलोमिटर मध्ये २८ किलोमिटरमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेनसहितको हुनेछ ।
सडकको शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । यो सडक एशियाली विकास बैंकको ऋण सहयोगमा बन्न लागेको हो । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा विकासको महाअभियान शुरू भएको बताए । त्यसको पहिलो प्राथामिकतामा भौतिक पूर्वाधार परेको प्रधानमन्त्रीले प्रष्ट पारे ।
प्रधानमन्त्री ओलीले भने, ‘देश बनाउने अभियानमा हामी अगाडि बढ्यौँ । यो अभियान रोकिँदैन, अब छेड्ने छेड्छौँ, भत्काउने भत्काउछौँ ।’ बुटवल–नारायणगढ सडक अन्तर्गत पर्ने दाउन्नेको पहाड र शिद्धबाबामा पनि सुरूङमार्गको काम अगाडि बढ्ने प्रधानमन्त्रीले बताए । उनले थपे, ‘२०७५ देखि ८० सम्म सडक निर्माण र स्तरोन्नतिको युग हो । २०८० देखि सुरूङमार्गको युग हुन्छ ।’
यसरी अघि बढ्छ सडक विस्तारको काम
सडक विभाग आयोजना निर्देशनालय (एडीबी) उपआयोजना निर्देशक सागर पौडेलले चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारको ठेक्का पाएको जानकारी दिए । अबको साढे तीन वर्षमा यो सडक देशकै नमुना सडक हुनेछ । ‘यो सडक दुई प्याकेजमा बन्छ । दुबै प्याकेजको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने–बुटवल ४९ किलोमिटरमा बन्नेछ ।
१५ अर्ब रूपैयाँ लागत
सडक आयोजनाको कुल लागत १५ अर्ब रूपैयाँ रहेको छ । जसमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ । बाँकी थप रकम नेपाल सरकारकै हुनेछ । एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको एडीबीको आयोजना निर्देशनालयले बताएको छ । ‘यो सडक साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी हस्तान्तरण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । निर्माण सम्पन्न भएपछि पनि चार वर्षसम्म यो सडकको मर्मत सम्भारको काम चाइना स्टेट कन्स्ट्रक्सनले नैं गर्नुपर्ने सम्झौतामा उल्लेख छ’ पौडेलले भने ।
साढे तीन वर्षमा बनिसक्ने
शुक्रवारबाट औपचारिक रुपमा विस्तारको काम शुरु भएको यो सडक २०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । आयोजनाको ठेक्का गएको पुस ४ गते भएको थियो । सडक विस्तार सम्पन्न भएपछि पनि २०८४ साउन २१ गतेसम्म मर्मत सम्भार पनि ठेकेदार कम्पनीले नै गर्नेछ । यो सडक निर्माण हुन लागेपछि यस क्षेत्रका उद्योगी व्यवसायी र सर्वसाधारण उत्साहित छन् । आयोजना ठेकेदारले निर्माण सामग्रीहरु चीन, पाकिस्तान र भारतबाट भित्राएको छ । यो समाचार अभियान दैनिकले छापेको छ।