काठमाडौँ - नेपाल बार एसोसिएशनको नेतृत्वको लागि अध्यक्षका प्रत्यासीद्वय चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेल दुवैले आ-आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन्।
नेकपाका तर्फबाट श्रेष्ठ नेतृत्वको प्यानल चुनावी मैदानमा छ भने कांग्रेसको तर्फबाट पोखरेल नेतृत्वको प्यानल चुनावी मैदानमा छ। निर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अध्यक्षका प्रत्यासीद्धय श्रेष्ठ र पोखरेलले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका हुन्।
प्रगतिशील, पेशागत तथा समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका प्रत्यासी श्रेष्ठले आफूहरुले ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हाम्रो सरोकार: स्वतन्त्र, सक्षम, निष्पक्ष र भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि व्यवसायिक बार’ भन्ने मूल नारा दिएको सुनाए।
उनले न्यायापालिकामा देखिएको विकृति, विसंगति तथा भ्रष्टाचारलाई नियन्त्रण गर्ने सुनाए। कानुन व्यवसायीहरुको पेशागत हकहित र व्यवसायिक सुरक्षाको लागि पनि आफूले गम्भिर पहलकदमी लिने सुनाउँदै श्रेष्ठले ‘लयर्स एकेडेमिक एक्ट’ ल्याउने जनाए।
उनले भने, ‘व्यवसायमा आउने नवोदित साथीहरुको पक्षमा हामी र्छौं। व्यवसायमा देखिएका सबैखाले समस्याको समाधानको लागि म सक्रियताका साथ लागिपर्छु।’
त्यस्तै बृहत्त लोकतान्त्रिक, समावेशी तथा पेशागत समूहबाट अध्यक्षका प्रत्यासी पोखरेलले आफ्नो प्यानलले ‘स्वतन्त्र, सक्षम, भ्रष्टाचारमुक्त र निर्भिक न्यायपालिकाको स्थापनाका लागि बृहत लोकतान्त्रिक प्यानलको जित’ भन्ने नारा तय गरेको सुनाए।
पोखरेलले यसपटकको निर्वाचन नेतृत्वकेन्द्रित नभएर नीति केन्द्रित हुने स्पष्ट पारे। न्यायापालिकामा रहेका विकृति सुधार्नुनै आफ्नो प्रमुख लक्ष्य भएको उनको भनाई छ।
उनले आफूले बारको भीजन र मिशनलाई अघि बढाउने पनि प्रतिबद्धता जनाए। उनले न्यायालयमा निर्देशित र नियन्त्रित शासन व्यवस्था हटाउन, स्वतन्त्र न्यायापालिकाको रक्षा गर्न, कानून व्यवसायीको मर्यादाको स्तरोन्नति तथा न्यायपालिकालाई विकृतिविहीन बनाउन ’जुडिसिएल ट्रेन्ड एनालाइसिस’को शुरूआत गर्न आफूले उम्मेदवारी दिएको र जीत सुनिश्चित रहेको दाबी गरे।
आफूले देशभरिका कानून व्यवसायीहरुको हकहित संरक्षण गर्ने र मर्यादाक्रम कायम गर्ने पनि उनले सुनाए। त्यस्तै, बार काउन्सिललाई प्रभावकारी बनाउने र बारलाई पारदर्शी बनाउने पनि पोखरेलले योजना सुनाए।
पेशामा आउन लागेका नवोदित व्यवसायी साथीहरुलाई तपाईहरुको लागि आशाको केन्द्रको रुपमा बार छ है भनेर देखाउने पनि उनले सुनाए। बार र अदालतलाई रिफर्म गर्ने एजेण्डासहित आफू चूनावी मैदानमा होमिएको उनले सुनाए।