भैरहवा – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रुपमा टुंगिने बताएका छन्।
भैरहवा विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिक रुपमा टुंगिने बताएका छन्।
‘चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिक रुपमा टुंगिएका छन्,’ नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, ‘स्थानीय तहका एकता पनि आकिस्मक रुपमा नै टुंगिने छ।’
सीके राउतले विखण्डन छाडेर र विकासको बाटोमा आउन सहमत भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लवलाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताए।
‘तर, विप्लव समूहले विध्वंसात्मक गतिविधि छाडेको छैन,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘विप्लवलाई त्यसो नगर्नु भन्दा चित्त देखाउनेहरु पनि छन्, उनीहरु देशका हितमा छैनन्।’
प्रधानमन्त्रीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिँदै विमानस्थल सञ्चालन हुनासाथ पर्यटकको आगमन खचाखच हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्रीले आज नै विमानस्थलको निरीक्षण गर्दै काम छिटो सक्न निर्देशन दिएका छन्।