काठमाडौँ । प्रदेश २ मा गठबन्धन सरकार चलाइरहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच एकीकरण पहल सुरु भएको छ। फोरमले दुई महिनाअघि नै राजपालाई एकीकरणका लागि पत्र पठाउँदै राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता टोली बनाएकामा त्यसलाई स्विकार्दै राजपाले फोरमलाई जवाफ पठाएको छ। राजपाले वार्ताका लागि अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा टोली गठन गरेको छ।
राजपाका तत्कालीन अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले विगतमा वैकल्पिक राजनीतिक शक्ति बनाउने अभियानले पूर्णता नपाए पनि अहिले पुनः थालिएको प्रयासले आशा जगाएको बताए। ‘६ वटा पार्टी मिलेर राजपा नेपाल गठन भइरहेकै समयमा संघीय समाजवादी फोरम नेपालसमेत सहभागी भई मधेसीलगायत शोषित, पीडित, उपेक्षित समुदाय, वर्ग र क्षेत्रका जनताको वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानले पूर्णता पाउने हाम्रो अपेक्षा थियो,’ राजपाले पठाएको पत्रमा भनिएको छ, ‘फोरमको अनुपस्थितिले त्यसबखत अभियान अपूर्ण नै रहन गयो। त्यसलाई पूर्णता प्रदान गर्ने तथ्यप्रति फोरमको पत्रले राजपा नेपाल पुनः आशावादी हुन पुगेको छ।’
प्रदेश २ मा फोरम र राजपाले सरकार चलाइरहेको भए पनि केन्द्रमा फोरम केपी ओली नेतृत्वको सरकारमा छ । राजपाले हालै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दुवै दल गत वर्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मोर्चा बनाएर निर्वाचन लडेका थिए। फोरम र राजपाको मोर्चाले तराईका अधिकांश सिटमा विजय हासिल गरेपछि पार्टी एकीकरणका लागि समेत दबाब बढेको थियो।
‘अबको चुनावमा स–साना पार्टीको अस्तित्व हुनेछैन, त्यसैले विचार र मुद्दा मिल्ने पार्टीबीच एकता गरेर अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो, त्यही मान्यताका आधारमा चुनावमा पनि सहकार्य गरेको दल राजपासँग एकीकरण पहल गरेका हौं,’ फोरम नेता प्रदीप यादवले भने । उनका अनुसार गत चुनावमा दुई दल मिलेर जाँदा राम्रो परिणाम आएकाले त्यही शक्ति कायम राख्न र मधेसमा प्रभावकारी भूमिका खेल्न एकताको आवश्यकता ठानिएको हो ।यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।