काठमाडौँ। नेपालको पाँच पटक प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको नवौँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइदैछ।
१९८१ मा गिरिजाप्रसाद कोइरालाको जन्म भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो। जहानियाँ राणा शासनको विरोध गरेको कारण निर्वासन रहनु भएका कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाको कान्छो छोराको रुपमा गिरिजाप्रसादका जन्म भएको थियो।
कोइरालाको राजनीतिको शुरुवात भने मजदूर नेताको रुपमा भएको थियो। गिरिजाप्रसाद नेपाल ट्रेड युनियन काँग्रेसको संस्थापक अध्यक्ष बनेका थिए। २०१७ सालमा पञ्चायती व्यवस्था शुरु भएसँगै गिरिजाप्रसाद जेल परेका थिए। २१ दिन भोक–हडताल गर्नुभयो र छुटेर उनी २०२१ मा भारत प्रवासमा गएका थिए।
२०३२ सालमा भारतको पटनामा भएको काँग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वाचत भएका थिए। उनी लामो समयसम्म महामन्त्री र पार्टी सभापति पनि बने। २०४८ को आमनिर्वाचनपछि जननिर्वाचित प्रधानमन्त्री बनेका थिए।
सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने र गणतन्त्र स्थापनाको प्रमुख श्रेय गिरिजाप्रसादलाई जान्छ। कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ मा निधन भएको थियो।
नेपाली राजनीतिमा कोइरालाको आजका दिनमा पनि अभाव खट्कीएको भान हुँदैछ। राजनीतिक अस्थिरता र अविश्वासले विकास निमार्ण र शान्ति स्थायित्व हुन सकेको छैन्। आज पनि विप्लव माओवादी भूमिगत बनेको स्थिति छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको छ।
जनतामा त्रास सिर्जना भएको छ। सरकारले आफ्नो कोर्णबाट ब्याख्या गरेको छ। विप्लव माओवादीले आफ्नो कोर्णबाट ब्याख्या गरेको छ। सरकार विप्लवमाथिको प्रतिबन्ध जायज हो भन्छ। विप्लव माओवादी आफूमाथि अन्याय भएको दाबि गर्छ।
नेपाली सेनाले विप्लवको विषयलाई लिएर राजनीतिक समाधान खोज्न सरकारसँग आग्रह गरेको छ। विश्व दुनियाँ विकासको यूगमा प्रवेश गरिरहेको अवस्था छ। यस्तो अवस्थामा हाम्रो मुलुकमा यस्ता हिँसात्मक गतिविधिहरु जारी रहने हुन भने अझै समस्या बलिझने निश्चित छ। गिरिजाप्रसाद कोइरालाको चलाखी र चुनौतिलाई चिर्न सक्ने क्षमतालाई वर्तमान राजनीतिक दल र सरकारको नेतृत्वले अध्ययन गर्न आवश्यक छ।