काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिएका छन्। राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक भएका हुन्। राजपा अध्यक्ष मण्डलको यही गत फागुन २९,३० र चैत १ गते बसेको बैठकले भण्डारीलाई चैत ६ देखि संयोजक बनाउने निर्णय गरेबमोजिम नेतृत्व दिइएको राजपाका महासचिव केशव झाले जानकारी दिए।
विसं २०७४ वैशाख ७ गते विभिन्न मधेश केन्द्रीत राजनीतिक दल एकीकृत भई गठन भएको राजपामा अध्यक्ष मण्डलका सदस्य ६ जना छन्। उनीहरुमध्ये पालैपालो संयोजक बन्ने गरेका छन्। पार्टीका महाधिवशेनले नेतृत्व चयन गर्नेछ । आगामी वैशाख ७, ८ र ९ गते राजपाको पार्टी एकताको महाधिवेशन हुँदैछ।
यसअघि राजपा अध्यक्ष मण्डलको संयोजकमा नेता महेन्द्र राय यादव थिए। यसपछि अध्यक्षमण्डलका अन्य सदस्य अनिल झा र राजकिशोर यादव क्रमश संयोजक बन्नेछन् । पार्टी एकीकरण घोषणापछि महन्थ ठाकुर करीब १८ महीना अध्यक्ष मण्डलको संयोजक बनेका थिए। उनीपछि राजेन्द्र महतोले जिम्मेवारी सम्हालेका थिए ।