काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्र र प्रदेशका सरकार गठन भएको एक वर्ष पूरा भएकाले यसबीचका कामको समीक्षा गरेर मन्त्रिमण्डलमा हेरफेर गर्नुपर्ने बताएका छन्।
क्याक्स्टन मिडिया प्रालिले सञ्चालनमा ल्याएको ‘पब्लिक न्यूज एजेन्सी’ को शुभारम्भ कार्यक्रमपछि सञ्चारर्कीको जिज्ञाशामा नेता नेपालले भने, ‘यसबीचको कामको मूल्याङ्न गर्ने समय आएको छ। एक वर्ष बितेकाले अब मन्त्रिमण्डलमा पुनः गठन हुनु उपयुक्त छ। प्रदेशका हकमा पनि यो कुरा लागू हुन्छ तर यसबारे मलाई अरु जानकारी छैन।’
केन्द्र सरकार र प्रदेश नं २ मा बाहेक छ वटा प्रदेशमा नेकपाले नेतृत्व गरिरहेको छ। नेता नेपालले पार्टी एकताको काम तल्लो तहसम्म पुग्न नसक्नुले कार्यकर्तामा निराशा पैदा भएको उल्लेख गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केपछि एकताले पूर्णता पाउने विश्वास व्यक्त गरे। उनले पार्टीमा विधि र प्रणालीसहित छलफलको परम्पराले निरन्तरता पाउनुपर्नेमा जोड दिएका छन्।
अर्को प्रसङ्गमा नेता नेपालले विखण्डनको कुरा गर्ने सिके राउत नेतृत्वको गठबन्धनलाई मूल धारमा ल्याउने सरकारको सोच सही भए पनि त्यसमा विश्वस्त हुने वातावरण सम्बन्धित पक्षले गराउनुपर्ने बताए। उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाए पनि उसलाई मूलधारमा ल्याउने ढोका बन्द नभएको तर्क गरेका छन्।
उनले जनतामा उत्पन्न त्रासको वातावरण र लगानीकर्तालाई निरुत्साहित गर्ने काम हुन नहुने पनि जनाए । शुभारम्भ कार्यक्रममा नेता नेपालले दूरदर्शीताको अभाव, व्यक्तिगत सङ्घीर्णता, स्वार्थ र भ्रष्टाचारका कारण विकासमा बाधा हुने गरेकाले देशले परिवर्तन र विकास खोजेकाले सञ्चार क्षेत्रले विकासमा बाधक तत्वलाई चिनाई सकारात्मक पक्षलाई पनि उत्तिकै स्थान दिनुपर्नेमा जोड दिएका छन्।
नेकपाका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले क्याक्स्टन मिडिया प्रालिले सञ्चालनमा ल्याएको ‘पब्लिक न्यूज एजेन्सी¬’ले सही, निष्पक्ष र तटस्थ सूचना सम्प्रेषण गर्न सकेमा यस क्षेत्रमा सुदूर भविष्य हुने बताए।
नेपाल टेलिकमका प्रबन्धक डा.पोखरेल, बुद्धिजीवी डा.सुरेन्द्र केसी, स्वतन्त्र उर्जा उत्पादक सङ्घ (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंलगायतले सो मिडियाको सफलताका कामना गरेका थिए। उक्त एजेन्सीले अनलाइन, रेडियो, टेलिभिजनलाई आवश्यक पर्ने समाचार भिडियो, तस्बीर तथा विज्ञापन उपलब्ध गराउने जनाएको छ। रासस