काभ्रेपलाञ्चोक । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले जनताको बलिदान खेर नगएको बताएका छन्। जनसांस्कृतिक महासङ्घ नेपालद्वारा मंगलबार काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ शहीद दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै शहीदको बलिदानीका कारण आजको परिवर्तन सम्भव भएको बताए।
उनले भने “बलिदान खेर गएको छैन, आजको परिवर्तन शहीदको सपनाको फल हो।” उनले नेकपाले शहीद परिवारप्रति सम्मान व्यक्त गर्दै आएको र सहयोग गर्ने प्रतिबद्धता जनाए । पूर्व प्रधानमन्त्री खनालले ७० को दशक पार्टी एकीकरण र शुद्धिकरणको दशक भएको पनि बताए। “पार्टी एकताको विकल्प छैन”, उनले भने“अब नेकपा एक भएर ठूलो शक्तिका रुपमा स्थापित हुन्छ, नेपालमा अब योबाहेक कुनै शक्तिशाली पार्टी हुँदैन ।” उनले पूँजीवादबाट मुक्त हुन नेतालाई आग्रह गरे।