काठमाडौं – नेपाली कांग्रेसले सिके राउतसँग गरिएको राजनीतिक सहमतिका विषयमा रहेको विरोधाभाषलाई प्रष्ट पार्न माग गरेको छ।
विखण्डनको मार्ग परित्याग गरी मुलुकको अखण्डता स्वीकार गरेर संविधानभित्रबाट समाधानमा पुग्न चाहने समूहलाई स्वागत गर्दै कांग्रेसले यसको समाधानको विधिका बारे रहेको गम्भीर विरोधाभासलाई सुस्पष्ट गर्न सरकार समक्ष माग गरेको हो।
सम्झौताको दुई साता पुग्दासम्म ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या नगरिनु अत्यन्तै आपत्तिजनक रहेको कांग्रेस केन्द्रीय समितिको बैठकको निष्कर्ष छ।
मंगलबार बसेको बैठकले तराई–मधेश लगायत मुलुकको सबै भू–भागका आम नेपालीको भावना अविभाज्य नेपाल रहेको तथ्य पनि स्मरण गराएको छ। नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको मार्ग परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन बैठकले अपिल गरेको छ।
‘निषेधको मार्गबाट होइन वार्ताको माध्यमबाट सो समूहलाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न बैठकले सरकार समक्ष आग्रह गरेको छ,’ बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दशक लामो हिंसाबाट जर्जर भएको मुलुकले भर्खरै मात्र शान्ति प्राप्त गरेको स्मरण गर्दै बैठकले सत्तारुढ र विद्रोही दुबै नेकपालाई नागरिकको जीवनप्रति गम्भीर बन्न सचेत गराएको छ।’
१४औँ महाधिवेशनका लागि समिति गठन
नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको हो। निर्वाचनको सदस्यमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एकराज पोखरेल छन्।
बैठकले नियमावली मस्यौदा समिति गठनसमेत गरेको छ । विधान अनुसार पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति गठन गरिएको हो । समितिको सदस्यमा मीन विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल छन्।
आजैको बैठकले पार्टी केन्द्रीय अनुशासन समितिलाई समेत पूर्णता दिएको छ । पार्टीको विधान अनुसार सोमबार भीष्मराज आङ्देम्बेको संयोजकत्वमा गठित समितिलाई आजको वैठकले पूर्णता दिएको हो। समितिको सदस्यमा उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल छन्। बैठकले अघिल्लो अनुशासन समितिमा रहेको संयोजक रमेश रिजाललगायत सदस्यलाई धन्यवादसमेत व्यक्त गरेको छ।