काठमाडौँ – दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति नेल्सन मण्डेलाले भनेका छन्, ‘योद्धाहरुले मृत्युसँग डराउनु हुँदैन। डराउने मान्छेले परिवर्तनको नेतृत्व गर्न सक्दैन।’
वास्तवमै नागरिकको अधिकार स्थापित गर्ने उद्देश्य बोकेका नेता कहिल्यै त्रासमा हुँदैनन्, कुनै काम गर्न डर मान्दैनन्। बरु निरन्तर संघर्षको मैदानमा उभिएर जनताको पक्षमा आवाज उठाइरहन्छन्। र, इतिहास निर्माण गर्छन्।
मधेशी जनताको अधिकार स्थापित गर्नका लागि संघर्ष गरेर आएका युवा नेता प्रदीप यादव पनि त्यस्तै एक योद्धा हुन्, जसले न्यायका पक्षमा लड्दा धेरै चुनौतीहरु झेल्नु पर्यो। कयाैँ जाेखिमहरु मोल्नु पर्यो।
तर, उनका माग जायज थिए, त्यसैले जनताले मत दिएर संसदमा पठाए। जनताको त्यही भराेषालाई यादव संसदमार्फत प्रस्तुत गर्दै गर्छन्। र, आधारभूत तहका नेपाली नागरिककाे आशा र भराेसा जित्दै गएका छन् उनी।
सरल शब्द, तीक्ष्ण टिप्पणी, स्पष्ट विचार, सीधा बोली, असाधारण वाकपटुता अनि साधारण जीवनशैलीको पर्याय हुन् सांसद प्रदीप यादव।
वि.सं. २०३२ सालमा पर्साको मनियारीस्थित साधारण किसान परिवारमा जन्मेका यादव अहिले प्रतिनिधिसभा सदस्य छन्। संघीय समाजवादी फोरम नेपालको पर्सा अध्यक्ष रहेका यादव गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–१ बाट विजयी भएका हुन्।
मधेश आन्दोलनबाट स्थापित भएका यादव आफ्नो जिल्लाका मात्रै नभएर मधेशबाट प्रतिनिधित्व गर्नेमध्येका लोकप्रिय नेतामा गनिन्छन्।
उनले समग्र मधेशकाे राजनीतिको नेतृत्व सम्हाल्दै आएका छन्। प्रतिनिधिसभामा पछिल्लो राजनीतिक, सामाजिक तथा विविध पक्षलाई निरन्तर उठान गरेका सांसद यादवको ख्याती नेपाली समाजमा क्रमश: स्थापित हुँदैछ।
स्थानीय नेता–कार्यकर्तासँगै सर्वसाधारणसँग सधैँ र सिधै सम्पर्कमा रहने र समस्या सुनिदिने गरेका कारण पनि सांसद यादव पर्सामा लोकप्रिय छन्।
जागिर छाडेर राजनीतिमा
राजनीतिमा आउनुअघि यादव कर्मचारी थिए। तर, जनताको सेवा गर्नका लागि सबैभन्दा उत्तम् विकल्प उनले राजनीति नै देखे। ‘त्यसैले राजनीतिक यात्रा शुरु गरेको हुँ,’ उनी भन्छन्, ‘ मेरो जीवन जनताको अधिकार स्थापित गर्नकै लागि हो।’
यादवले पर्साको तत्कालीन तुलसीगडुवा गाविसमा एकवर्ष सचिवको काम गरेपछि औपचारिक रुपमा राजनीतिक यात्रा प्रारम्भ गरेका हुन्।
वीरगञ्जको सिद्धार्थ माविबाट २०४८ सालमा एसएलसी पास गरेका यादवले वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरे।
त्यसपछि उनी राजनीतिमा लागे। यादवले वि.सं. २०५३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सक्रिय राजनीतिको शुरुवात गरे। २०६४ सालसम्म राप्रपाको क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका यादव त्यसपछि संघीय समाजवादी फोरम नेपाल (तत्कालिन मधेशी जनअधिकार फोरम) का जिल्ला उपाध्यक्षको जिम्मेवारीका साथ पार्टी प्रवेश गरे।
युवा नेता यादवको पक्षमा जनसमर्थन बढ्दै गयो। उनलाई कार्यकर्ताको साथ र विश्वास पनि बढ्दै गयो। त्यसपछि शशी कपुरले फोरमको पर्सा जिल्ला अध्यक्षबाट बिदा लिनु पर्यो। र, जिल्लाको नेतृत्व सम्हाल्न आए युवा नेता प्रदीप यादव।
दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्ष भएका यादव परिवर्तनका पक्षमा निरन्तर लड्दै आएका छन्। त्यसो त यादवले शाहीकालमै जिल्ला विकास समितिको मनोनित सदस्य भएर काम गरेका थिए।
प्रगतिपथमा युवा नेता यादव
भनिन्छ, असफलता नै सफलताको पहिलो खुड्किलो हो। असफलताबाट पाठ सिक्दै अघि बढ्न सक्ने मानिस अवश्य सफल हुन्छ।
त्यस्तै भयो युवा नेता प्रदीप यादवको राजनीतिक जीवनमा पनि। चुनावमा दुई पटक पराजित भएका यादवले तेश्रो पटकमा जनमत प्राप्त गरे।
वि.सं. २०७० को सविधान सभा चुनावमा पर्सा क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका थिए यादवले, पराजित भए।
वि.सं. २०७४ मा भएको निर्वाचनमा पर्सा क्षेत्र नम्बर–१ बाट प्रतिद्वन्द्वी उम्मेदवारलाई चार हजार ६ सय ५१ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए उनी।
मधेशकै पहिरन, मातृभाषामा शपथ
सांसदहरूको शपथग्रहण कार्यक्रममा सबैको आकर्षणका केन्द्र बनेका थिए सांसद प्रदीप यादव। कारण थियो उनको पहिरन। धोती, कुर्ता र मधेशी पगरीमा सजिएर संघीय संसद भवन प्रवेश गरेका थिए उनी।
यादवले मधेशकै पहिरनमा मातृभाषा भोजपुरीमा नै शपथ लिएका थिए। जिल्ला र क्षेत्रका सबै बासिन्दाले सहजरूपमा बुझ्नका लागि नै नेपाली र हिन्दीभन्दा पनि मातृभाषा भोजपुरीमा शपथ लिएको उनी बताउँछन्।
मधेश आन्दोलनका योद्धा
युवा नेता यादवलाई धेरैले ‘मधेश आन्दोलनका योद्धा’ भनेर चिन्छन्। मधेश आन्दोलनमा उनको महत्वपूर्ण योगदान छ।
संविधान जारी भएको साल २०७२ को मधेश आन्दोलन र नाकाबन्दीका बेला उनी वीरगञ्जमा आन्दोलन गर्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको जनपरिचालन समितिका संयोजक थिए।
‘मधेशको आन्दोलनका क्रममा धेरै संघर्ष गरेँ, अबको ५ वर्षको मिशन चाहिँ आन्दोलनबाट उठेका मागहरुलाई पूरा गराउनु र विकासका लागि संघीय ससंदमा अनवरत संघर्षरत गर्नु हो,’ यादवले भने।
गत वर्षको चुनावमा पर्सा जिल्लामा संघीय समाजवादी फोरम नेपालले राम्रो नतिजा निकाल्नुका पछाडि युवा नेता यादवको महत्वपूर्ण योगदान छ।
संघीय समाजवादी फोरम पर्साका अध्यक्ष यादवले आफ्नो प्रचारप्रसारसँगै जिल्लाकै समग्र नेतृत्व सफलतापूर्वक निर्वाह गरे।
वि.सं. २०६४ सालको निर्वाचनमा एक तथा २०७० सालको निर्वाचन एउटै सीट नजितेको फोरमलाई यादजले जिल्लामा एक नम्बर पार्टी बनाउन सफल भए।
प्रतिनिधिका ४ मध्ये तीन सिट जितेको उनको पार्टीले प्रदेशका ५ निर्वाचन क्षेत्रका विजयी हासिल गर्यो। त्यसैगरी, वीरगञ्ज महानगरसहित चार वटा स्थानीय तह फोरमका उम्मेदवार विजयी भए।
प्रतिनिधिसभा र संसदीय समितिमा यादव
संघीय समाजवादी फोरमका तर्फबाट निर्वाचित सांसद प्रदीप यादव संसदमा जनजीविकाका सवालहरुलाई महत्वका साथ उठाउँछन्।
समसामयिक विषयदेखि भ्रष्टाचार तथा अन्यायका विरुद्ध उनले आवाज उठाउने गरेका छन्। यादवको पार्टी पनि सरकारमा छ। तर, उनी सरकारले गरेका नराम्रा कामको तीव्र आलोचनामा उत्रिन्छन्।
यादव नेपाल वायुसेवा निगमले दुई वटा वाइडबडी विमान खरिदका क्रममा भएको अनियमितताका विषयमा अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका सदस्य रहेर काम गरे।
उक्त समितिले वाइडबडी विमान खरीद गर्दा चार अर्ब ३५ करोड भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो। त्यसमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
यादवले वाइडबडी विमान भ्रष्टाचारमा सरकार किन चुप लागेको भनेर आलोचना गरेका थिए। ‘मेरो प्राथमिकता आधारभूत तहका जनताको हित हो, चाहे ती तराई मधेशका हुन् वा हिमाल पहाडका,’ यादव भन्छन्, ‘जनस्तरसम्म परिवर्तनको आभास पुग्नुपर्छ, त्यसका लागि म निरन्तर लड्न दृढताका साथ लागेको छ।’