काठमाडौँ - पूर्वडीआइजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छन्। फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चितवनमा एक कार्यक्रमका बीच थापालाई पार्टी प्रवेश गराएका हुन्।
फोरम नेपाल पहिलो महाधिवेशनको तयारीमा लागिरहेकै बेला पूर्वडीआइजी थापा पार्टी प्रवेश गरेकी हुन्।राजनीतिक दवावमा उपेन्द्रकान्त आर्याललाई आईजीपी बनाएको भन्दै थापा न्यायका लागि सर्वोच्च अदालतसमेत गएकी थिइन्।
सबै समस्याको समाधान राजनीतिबाटै हुने देखेपछि उनी राजनीतिमा आएको मन्त्री यादवका स्वकीय सचिव अमरेन्द्र यादवले जानकारी दिए। पार्टीमा प्रवेश गरे पनि हाल थापालाई कुनै जिम्मेवारी दिएको छैन। फोरम नेपालको बैशाख २७ गतेदेखि शुरु हुने पहिलो महाधिवेशनबाट उनलाई पार्टीको कुनै जिम्मेवारी दिने जनाइएको छ।
को हुन् पार्वती थापा?
गोरखामा २०१६ सालमा जन्मेकी थापा सानै हुँदा बसाइँसराई भएकाले उनको बाल्यकाल चितवनमै बित्यो। सानैदेखि अदम्य उत्साह र साहसी थापाले एसएलसीसम्मको अध्ययन खैरहनी मावि खैरेनी चितवनबाट पुरा गरेकी थिइन्।
पद्यकन्या कलेज काठमाडौँबाट आईए, बीए पोस्टग्रेजुयट पढाइ गरेकी थिइन्। उनी वीरेन्द्र प्रहरी अस्पतालमा सइ पदमा २०४० सालमा प्रवेश गरेकी थिइन्। २०४३ सालमा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर बनेकी थापा पहिलो जिल्ला प्रहरी कार्यलय प्रमुख हुँदै डीआइजी बन्ने महिलाको रेकर्डसमेत बनाएकी छन्।