काठमाडौँ। २५प्लस समूहले ‘देशको चिन्ता गर्नु प्रत्येक देशभक्त नेपालीको कर्तव्य’ विषयको अन्तरक्रिया सम्पन्न गरेको छ। राष्ट्रियताको बारेमा गम्भीर बन्न समूहले अपिल समेत गरेको छ।
देशी विदेशीहरुको क्रिडास्थल बन्नबाट मुलुकलाई जोगाउनु सच्चा नेपाली नागरिकको कर्तव्य भएको भन्दै समूहले सबै नागरिकहरुले राजनीतिक दलभन्दा माथि उठेर देशका बारेमा सोच्न आग्रह गरेको छ।
कार्यक्रममा बोल्ने वक्ताले सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिलाई सकारात्मकरुपमा ग्रहण गरी राउत राजनीतिक मूलधारमा आउनु सकारात्मक भएको बताएका छन्।
केही वक्ताले राउतसँग भएको सहमतिमा उल्लेख भएको जनअभिमत भन्ने शब्दलाई दुवै पक्षले स्पष्ट पार्नुपर्नेमा जोड दिएका थिए।
राजधानीको बालुवाटारमा सम्पन्न कार्यक्रममा उनीहरुले नेकपा विप्लवसँग वार्ता गर्नुपर्नेमा जोड दिँदै द्वन्द्व समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले देश आर्थिक सम्मुन्नतिका लागि अघि बढ्नुपर्ने बेलामा द्वन्द्व सिर्जना हुनु राम्रो नहुने बताए।
अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष सुनिता बरालले विगतमा विखण्डनको बाटो पक्रेका राउत राजनीतिक मूलधारमा आउनुलाई सकारात्मक रुपमा स्वीकार गर्नुपर्ने बताइन।
नेपाल तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले सरकारले देश टुक्र्याउने शक्तिसँग सम्झौता गरेको तर राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाएको भन्दै सरकारको आलोचना गरेका छन्।
नेपाली सेनाका अवकाश प्राप्त जर्नेल प्रेमसिंह बस्नेत, राजनीतिकर्मी विराज विष्ट, सरकारका पूर्वसचिव मोहनसिंह खड्का, समूहका संस्थापक सदस्य द्वारिका ढुङ्गेल, समूहका सदस्य विवेक शाह, डा. राजेश अहिराज, पूर्वराजदूत निरन्जनमान सिंह बस्नेतले सरकारले मधेशवादी दलहरुसँग हालसम्म ३१ सम्झौता गरिसकेको बताउँदै मधेशको मुद्दाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।