काठमाडौं – विवेकशील साझा पार्टीले मेडिकल कलेज र शैक्षिक संस्थाहरुमा बढी शुल्क असुलीबारे मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
शिक्षा र स्वास्थ जस्ता आधारभुत सेवाका क्षेत्रमा नाफाखोर व्यवशायीकरणको नीतिले गर्दा यस्ता हर्कतबाट अभिभावक र विद्यार्थीहरु निरन्तर रुपमा मारमा परेको बताउँदै विवेकशील साझा पार्टीले धेरै शुल्क लिने दोषी कलेजहरुलाई कारवाही गर्नेतर्फ सरकारको उदासीनता संशयपूर्ण रहेको टिप्पणी गरेको छ।
पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट विद्यार्थी र अभिवावकलाई मर्का पर्न गएकोमा आवश्यक कदम चालेर बढी शुल्क लिइएकाको हकमा सो शुल्क फिर्ता गर्न र आइन्दा तोकिएको भन्दा थप शुल्क लिने सम्पूर्ण शैक्षिक संस्थाहरुको मनोमानी प्रवृत्तिलाई निरुत्साहित गर्न तत्काल कडा कदम चाल्न विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ।’
शिक्षा र स्वास्थ्य जस्ता आधारभुत सामाजिक सेवामा राज्यको दायित्व सहित नागरिकको सहज र न्यायोचित पहुँच सुनिश्चितिताका लागि आवश्यक कानूनी व्यवस्था हुनु पर्ने कुरामा विवेकशील साझा पार्टीले जोड दिएको छ।