नयाँ दिल्ली – भारतीय आकाशमा हवाई ट्राफिकको चाप बढेका कारण दुई वटा विमान केही सेकेण्डको अन्तरले आवाशमै दुर्घटना हुनबाट जोगिएका छन्।
टाइम्स अफ इण्डियाको अनलाइन संस्करणका अनुसार गएको शुक्रबार अपरान्ह काठमाडौं आउँदै गरेको इत्तेहाद एयरलाइन्स र फ्रान्सको राजधानी पेरिस जाँदै जाँदै गरेको एयर फ्रान्सका जहाज केही सेकेण्डको दूरीमा ठोक्किनबाट जोगिएका छन्।
अबुधावीबाट काठमाडौं जाने इवाई २९० विमान ३१ हजार फिटको उचाइमा उडिरहेको मुम्बई ट्राफिक कन्ट्रोलका अनुसार भियतनामबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ जहाज ३२ हजार फिटको उचाइमा उडिरहेको थियो।
शुक्रबार दिउसो एक बजेर ४० मिनेटको समयमा मुम्बई एयर ट्राफिक कन्ट्रोलले इत्तेहादको उडानलाई ३३ हजार फिटमा जान निर्देशन दिएको थियो। काठमाडौं आउँदै गरेको जहाजले उचाइ लिने क्रममा विपरीत दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने सामने भयो।
दुई एयरक्राफ्ट मात्रै तीन नटिकल माइल टाढा रहेका र दुवै पाइलटको सावधानीका कारण विमानहरु आकाशमै ठोक्किनबाट जोगिएको समाचारमा उल्लेख गरिएको छ।
पाकिस्तानले भारतीय विमानहरुलाई हवाईमार्ग प्रयोग गर्न निशेध गरेपछि भारतमा एयर ट्राफिक बढेको छ। पाकिस्तानको आकाश नखुलेका कारण नेपाल आउने अन्तर्राष्ट्रिय जहाज पनि हिन्द महासागर माथिबाट भारत हुँदै आउने गरेका छन्।