काठमाडौँ । संघीय समाजवादी फोरम नेपालले संघीय सरकार तत्कालै नछोड्ने भएको छ। राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि फोरमले सरकार छोड्दै छ भन्ने चर्चा हल्ला मात्रै भएको फोरमले जनाएको छ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका छन्। उनले आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्ने बताए।
सरकारमा पार्टीको सहभागिता संविधान संशोधनका लागि भएको र यी विषय विस्तारै सम्बोधन हुने क्रममा रहेका बताउँदै उनले जनताको चाहनाअनुसार नै सरकारमा सहभागी भएको बताए। राजपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि फोरमले समेत सरकार छोड्नुपर्ने दबाब बढेको भन्ने कुरामा सत्यता नरहेको फोरमले जनाएको छ।
फोरम नेपालका उपमहासचिव एवं केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले सरकारमा सहभागी हुनु वा नहुनुको विशेष कारण हुने बताए। अहिले नै तत्काल पार्टीले सरकार छोडिहाल्ने अवस्थामा नपुगेको उनले बताए।‘मन लाग्यो सरकार सहभागी भइहाल्ने, मन लागेन फर्किहाल्ने भनेर हुँदैन’ अधिकारीले भने, ‘सरकारमा सहभागी हुन र नहुनु दुवैको विशेष कारण हुन्छ, अहिले तत्कालै छोडिहाल्ने अवस्था छैन।’
प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धिका लागि सरकारमा सहभागी भएरै पहल जारी राख्ने बताउँदै उनले पार्टीले सरकार छोड्ने निर्णय अहिले नगरेको उनले बताए। ६ चैतदेखि पदाधिकारी बैठक काठमाडौंमा बोलाइएको उनले बताए । बैठकमा वर्तमान राजनीतिक अवस्था, सरकार, पार्टीको महाधिवेशनलगायतका विषयमा छलफल हुने उनले बताए।