काठमाडौं - पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले राणाहरुको शालिक संग्रहालयमा र शहीदको शालिक जनताको माझमा राख्नु पर्ने बताएका छन्।
आइतबार बसन्तपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘शहीद गंगालाल श्रेष्ठ स्मृति तथा क्रान्तिवीर शहीद गंगालाल श्रेष्ठ’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शहीद गंगालाल श्रेष्ठका कान्छा भाई विजयलाल श्रेष्ठले शहीदलाई मृत्युदण्डका लागि निर्देशन दिने राणा जुद्ध शमशेरको शालिको पछाडि बसेर जन्म शताब्दी मनपराउनु परेकोमा दुःख व्यक्त गरेका थिए। श्रेष्ठले प्रमुख अतिथिको रुपमा उपस्थित माधव कुमार नेपाल समक्ष सो शालिक हटाएर उक्त स्थानमा शहीदको शालिक राख्न पहल गर्नका लागि निवेदन समेत गरेका थिए।
उनैको आग्रहलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘राणाको शालिक राख्दै नराख्ने भन्ने होइन, संग्रहालयमा राखिनु पर्छ र जनताका लागि जीवन बलिदान दिने शहीदहरुको शालिक सडकमा राखिनु पर्छ।’
रुसमा जेठा दाजु एलेक्जेण्डर र कान्छा भाई लेनिन रहेजस्तै नेपालमा पनि जेठादाजु गंगालाल र माहिला भाई पुष्पलाल रहेको उनले बताए। एलेक्जेण्डरले कम्युनिस्ट पार्टी बनाउन सकेनन् तर लेनिनले बनाएको बताउँदै नेपालले भने, ‘गंगालाले पार्टी बनाउन सक्नुभएन तर वहाँले देखाएको बाटोमा हिँडेर पुष्पालले कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो।’
स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेको नेता नेपालले सोही प्रतिष्ठानबाट प्रकाशित पुस्तक ‘क्रान्तिवीर शहीद गंगालाल श्रेष्ठ’को लोकार्पण गर्दै विजयलालको उक्त सन्देश प्रधानमन्त्रीसम्म पुर्याउने र विशेष पहलसमेत गर्ने बताए।
नेता नेपालले सिके राउतले म नेपाल आमाको सन्तान हुँ भन्ने सोचेर सरकारसँग सहमति गरेको भए नागरिकले धन्यवाद दिनु पर्ने बताए। अमेरिकाको राज्य एकिकरण र राज्य विभाजनको उदाहरण दिँदै उनले भने, ‘तर यदि कोही राज्य टुक्र्याउने दुष्साहस गर्छ भने राज्य चुप लागेर बस्दैन।’ टेक्सास राज्यलाई अमेरिकाबाट छुट्ट्याउन खोज्नेहरुको हालत के भएको थियो भन्ने कुराको मनन् गर्न निवेदन गर्दै नेपालले देशको अखण्डतामाथि आँच आउने कार्य कसैले गर्नु नहुने बताए।
अहिलेको जल्दो बल्दो विषय नेत्रविक्रम चन्द ‘विप्लव’ रहेको बताउँदै उनलाइै शान्तिको बाटोबाट जनतामाझ आउन आग्रह गरे। उनले भने, ‘जुन कुरा मत्रपत्रबाट हुन्छ, त्यसमा गोलीबारुद नउठाँउ।’ विप्लवहरुले पनि कम्युनिस्टकै, गरिबहरुकै शासन चाहेको र नेपाल आमाका सबै सन्तानबीच समान चाहेको हुनाले बन्दुक समाउनु जरुरी नरहेको नेता नेपालले बताए।