काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदहरूले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आज (आइतबार) संसद् अवरुद्ध गरेका छन्।
सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै उठेर विरोध जनाउँदै सांसदहरूले सो नभएसम्म संसद् चल्ने नदिने जनाएका हुन्।
बैठक शुरु हुनेबित्तिकै सभामुखसँग समय मागेर बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेपछि पनि सरकारले सो प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरेको भन्दै विरोध जनाएका थिए।
सांसद कर्णले भने,“मधेसमा विभिन्न चरणमा भएका आन्दोलन, मानवअधिकार लगायतको विषयमा अध्ययन गरिएको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै रेशम चौधरीलाई थुनामा राखिएको छ।”
थरुहट तथा विभिन्न समयमा भएका मधेस आन्दोलनका क्रममा भएका ज्यादतीका विषयमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको संयोजकत्वमा २०७३ असोज २ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग गठन गरेको थियो।
सो आयोगले २०७४ माघ २९ मा सरकारलाई आफ्नो प्रतिवेदन बुझाइसक्दा समेत सरकारले अझैसम्म सो प्रतिवेदनलाई सार्वजनिक नगरेको भन्दै राजपाले कडा आपत्ति जनाएको छ। प्रतिवेदन सार्वजनिक गर्नका लागि पटकपटक माग गर्दासमेत सरकार संसद्प्रति जिम्मेवार नभएको सांसद कर्णको भनाइ छ।
सभामुख कृष्णबहादुर महराले सो विषयलाई सरकारको ध्यानाकर्षण गराएको र त्यसबारे सरकार गम्भीर भएको जानकारी गराए। राजपाको अवरोधपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ। (रासस)