काठमाडौँ - नेपाली कांग्रेसकै नेताहरुले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गतवर्ष भएको निर्वाचनमा टिकट बेचेर पैसा आधा-आधा बाँडेर खाएको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको सर्लाही-काठमाडौं सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा युवा तथा दोस्रो तहका नेताहरुले पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि टिकट बेचेर पैसा खाएको आरोप लगाएका हुन्।
केन्द्रीय सदस्य अमरेशकुमार सिंहले भने, ‘प्रदेश २ मा उम्मेद्वार बनाउन नहुने व्यक्तिबाट ६० लाख रुपैयाँ लिएर उम्मेदवार बनाइयो। त्यो पैसा देउवा र पौडेलले ३०-३० लाख बाडे।’ तर, सिंहले उक्त निर्वाचन क्षेत्र र उम्मेद्वारको नाम भने खुलाएनन्।
आफुले ती व्यक्तिलाई उम्मेद्वार नबनाउन आग्रह गरेको स्मरण गर्दै सिंहले थपे, ‘उपसभापति रामचन्द्र पौडेले लोभी बाहुन हुन्। पैसाको लोभमा देउवासँग मिले र उम्मेद्वारबाट पैसा खाए।’
शिर्ष नेतृत्वप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका सिंहले अधिकाश समय सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा शशांक कोइरालाको आलोचनामै खर्चिए।
देउवा र पौडेललाई निर्वाचनमा पैसा खाएको र पार्टीलाई कमजोर बनाएको आरोप लगाएका सिंहले उपसभापति विमलेन्द्र निधिका कारण प्रदेश २ मा नेपाली कांग्रेस कमजोर भएको दावी गरे।
शीर्ष तहका नेतालाई सेतो हात्तीको संज्ञा दिएका सिंहले भने, ‘अव कि तपाईहरु (शिर्ष नेता) राजनीति छोडनुस् नत्र हामी (युवा) नेता छोड्छौ।’
महामन्त्री डा शशांक कोइरालाले पनि पार्टीमा भएका नराम्रा क्रियाकलापको बारेमा नबोलेको भन्दै सिंहले आलोचना गरे। कोइराला उक्त कार्यक्रममा प्रमुख अतिथि थिए।
अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि शीर्ष नेतृत्वको आलोचना गर्दै सुध्रिन आग्रह गरेका थिए। चुनावमा टिकट विक्रि भएका कारण हार व्यहोर्नुपरेको भन्दै उनले त्यसको जिम्मेवारी सभापतिसँगै शिर्ष नेतृत्वले नलिनु दुखद भएको बताए।
महिला संघकी पूर्व अध्यक्ष मीना पाण्डे, सर्लाही कांग्रेसका नेता लक्ष्मण राय, तरुण दलका महासचिव भूपेन्द्रजंग लगायतका वक्ताहरुले पनि पार्टी नेतृत्वको आलोचना गर्दै सुध्रिन चेतावनी दिएका छन्।